उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
काठमाडौं । उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ निवासी शैलेन्द्र गुप्ता तथा सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्दै आएका विनोद साह कलवार रहेका छन्।
प्रहरीका अनुसार दुवै जना लामो समयदेखि उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी फरार रहेका थिए। उनीहरूविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरमा दर्ता भएको मुद्दाका आधारमा पक्राउ गरिएको हो।
हाल दुवै जनामाथि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


