नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणलाई २ वर्ष, टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तथा नेकपा (एमाले)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गर्दै खाणलाई ठगी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा छ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ। सोही कसुरमा थप तीन महिना कैद पनि निर्धारण गरिएको छ।
यद्यपि, एकीकृत सजायको सिद्धान्तअनुसार अदालतले खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना मात्र भोग्नुपर्ने फैसला गरेको छ।
त्यसैगरी, रायमाझीलाई ठगी कसुरमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। सोही कसुरमा थप छ महिना कैद पनि निर्धारण गरिएको छ।
अदालतले एकीकृत सजायका आधारमा रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ। रायमाझी हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।


