भोजपुरमा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते, आरोपी पक्राउ
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङग्रेमा सामान्य विवाद झैँ–झगडामा परिणत हुँदा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार राति करिब १० बजे स्थानीय २७ वर्षीय धनकुमार राईमाथि सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट धनकुमारको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको छ। गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले गणेशबहादुर राईलाई घटनामा प्रयोग गरिएको खुकुरीसहित नियन्त्रणमा लिएको छ।
घटनाको कारण सामान्य विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


