खैरो हेरोइन र सर्टगनका गोली सहित युवक पक्राउ
धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनका तीन राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश दासको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको सर्टगनका तीन राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ।
त्यसै क्रममा मुकेशले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट ०.११० मिलिग्राम खैरो हेरोइन समेत फेला परेको प्रहरीले जनाएको छ।
बरामद भएको लागुऔषध र गोलीसहित मुकेश दासलाई नियन्त्रणमा लिइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


