ट्रकले दुई यात्रुवाहक बसलाई ठक्कर दिँदा ८ जना घाइते, मापसे गरेका चालक पक्राउ
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।
जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ जाँदै गरेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करपछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो।
दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम नगरपालिका–९ का करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक हेटौंडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का, इनरुवा नगरपालिका–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ हरैताका रितु वर्ण कार्की (४६), मेघराज कार्की (४४), दिलमाया कार्की (५४) तथा इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय सफल मगर घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सिमन्त हाईवे अस्पताल चपुरमा उपचाररत सफल मगर भने उपचारकै क्रममा आफ्नै इच्छाले अस्पतालबाट हिँडेको जनाइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी करिब ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन (मापसे) गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


