कारले चार सवारीसाधनलाई ठक्कर दिँदा ११ जना घाइते
कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित सशस्त्र चेकपोस्ट नजिक पूर्व–पश्चिम राजमार्गमा कारले चारवटा सवारीसाधनलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १४ च ९००० नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएपछि अनियन्त्रित भई ई–रिक्सा, अटो र मोटरसाइकललाई समेत ठक्कर दिएको हो।
दुर्घटनामा घाइते भएका ११ जनामध्ये केहीको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने ६ जनालाई थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न कार, साइकल, ई–रिक्सा, अटो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। कार चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ६६ वर्षीय सुनिलकुमार क्षेत्रीलाई पनि नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये साइकलयात्री १३ वर्षीय वितार गिरी, अटो चालक ४२ वर्षीय राष्ट्र पुन र मोटरसाइकल चालक २४ वर्षीय अरुण चौधरी उपचारपछि डिस्चार्ज भएका छन्। अन्य घाइतेमध्ये कंगाले थारु, आरती चौधरी, मनिष घर्ती मगर, विशाल श्रेष्ठ, बिगान्त के.सी. र दिलसन पुनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। कारमा सवार ६५ वर्षीय कृष्णकुमार खड्का क्षेत्री र ५३ वर्षीया इरा खड्काको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


