चितवनमा दुई बस र ट्रक ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा करिब २५–२६ जना यात्रु घाइते भएका छन्।
आइतबार बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका यात्रुको तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुरस्थित अस्पताल पठाइएको छ।
दुर्घटनापछि केही समय अवरुद्ध बनेको मुग्लिङ–नारायणगढ सडकखण्डमा दुर्घटनाग्रस्त सवारीसाधन हटाएपछि दुवैतर्फबाट यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


