खोटाङमा बाढीमा परी दुई जनाको मृत्यु, सडक यातायात पनि प्रभावित
खोटाङ । अविरल वर्षापछि आएको बाढीमा परी खोटाङमा दुई जनाको मृत्यु भएको छ। दिक्तेल मझुवागढी नगरपालिका–३ नेर्पाकी करिब ४३ वर्षीया शान्दा राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको ज्यान गएको हो।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार आफन्तको घरबाट फर्किने क्रममा छाँगे खोला तर्ने प्रयास गर्दा शान्दा राईलाई बाढीले बगाएको थियो। रातिसम्म घर नफर्किएपछि स्थानीयले खोजी गर्दा उनको शव खोलामा फेला परेको थियो।
यस्तै, केपिलासगढी–४ स्थित गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो। बाढीले उनलाई करिब १०० मिटर तलसम्म बगाएको थियो। परिवार र स्थानीयवासीले खोजी गर्ने क्रममा उनको शव फेला पारेका हुन्।
निरन्तरको वर्षासँगै जिल्लाका सडक सञ्जालसमेत प्रभावित भएका छन्। प्रमुख जिल्ला अधिकारी कँडेलका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडकखण्ड तथा जिल्लाका अन्य सहायक सडकमा सार्वजनिक यातायात सञ्चालन रोकिएको छ।
अविरल वर्षाका कारण पूर्वी पहाडी जिल्लाका विभिन्न सडकमा पहिरो र बाढीले यातायात अवरुद्ध भएको छ भने स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


