दमकमा खुकुरी प्रहारपछि श्रीमतीको हत्या, श्रीमानले पनि गरे आत्महत्या
झापा । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान्–श्रीमतीबीच भएको विवाद दुःखद घटनामा परिणत भएको छ। श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच सामान्य विवाद हुँदा झैँ–झगडा भएको थियो। विवादकै क्रममा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए। प्रहारबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो।
घटनापछि धनबहादुर घरकै अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए। गम्भीर घाइते अवस्थामा रहेका दुवैलाई उपचारका लागि दमक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


