धनकुटाका एक जना सहित ब्राउन सुगर र स्कुटर समेत सुनसरीबाट दुई जना पक्राउ
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्कस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३८ प २३८९ नम्बरको स्कुटर शंकाको आधारमा रोकी जाँच गरेको थियो।
जाँचका क्रममा स्कुटर चालक धनकुटाको महालक्ष्मी नगरपालिका–९ निवासी २३ वर्षीय उज्वल मादेन र पछाडि सवार भोजपुरको हतुवागढी गाउँपालिका–५ निवासी ३२ वर्षीय रोशन राईको साथबाट २.८९ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनालाई बरामद लागूऔषध र स्कुटरसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।


