१० वर्ष कैद सजायका फरार प्रतिवादी मकवानपुरबाट पक्राउ
मकवानपुर । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–८ सल्ले निवासी अन्दाजी ६६ वर्षीय भीमबहादुर थिङ रहेका छन्।
इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा थिङलाई पक्राउ गरेको हो।
मकवानपुर जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा थिङलाई १० वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला पछि लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले खोजतलासका क्रममा नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका थिङलाई इलाका प्रहरी कार्यालय भीमफेदीमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


