स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय चालकको मृत्यु, एक महिला घाइते
कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटास्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
शनिबार राति करिब ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु.प्र.०१–००१ च २०५४ नम्बरको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक शिवराज नगरपालिका–२ हल्लानगर निवासी १८ वर्षीय शिखर वि.क. गम्भीर घाइते भएका थिए। निधार तथा हातखुट्टामा चोट लागेका उनलाई तत्काल आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा लगिएको थियो। उपचारकै क्रममा राति ११ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
मोटरसाइकलको पछाडि सवार सोही स्थानकी २१ वर्षीया शोभा सिर्पालीको टाउकोमा भित्री चोट लागेको छ। उनको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कारपियो, मोटरसाइकल तथा स्कारपियो चालक दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २६ वर्षीय केशव रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


