झापाको सुरुङ्गामा बाटो काट्दै गरेका वृद्धलाई पिकअपले ठक्कर दिँदा मृत्यु
झापा, साउन १८ । झापाको सुरुङ्गामा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका अनुसार सोमबार बिहान करिब ६ः३० बजे दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५१०४ नम्बरको पिकअपले बाटो काट्दै गरेका शिवाकोटीलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको टाउकोसहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो।
घटनापछि प्रहरी नायब निरीक्षक रवि राईको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएको थियो। तर बिहान ७ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ठक्कर दिएपछि पिकअप अनियन्त्रित भई बालुवामा फसेको थियो। गाडीलाई जेसीबीको सहायताले निकाल्ने प्रयास भइरहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार पिकअप इलामको सूर्योदय नगरपालिका–३ निवासी ३३ वर्षीय अरुण शर्माले चलाइरहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


