विषालु जंगली च्याउ खाँदा बाजुरामा एकको मृत्यु
बाजुरा — बाजुराको बडिमालिका नगरपालिका–७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अर्की एक जना उपचाररत रहेकी छन्।
स्थानीय ५१ वर्षीय रामे थापा र उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापाले विषालु जंगली च्याउ खाएपछि बिरामी परेका थिए। दुवैलाई सोमबार राति करिब १०:२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो।
अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका थिए। गम्भीर अवस्थामा रहेकी नाम्सरी थापाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।


