स्कुल बस दुर्घटना हुँदा चालक सहित ६ जना घाइते
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान विद्यालयको बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा सदन बोर्डिङ स्कुलको बस बिहान करिब ७:३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अन्य पाँच जनाको अवस्था सामान्य रहेको बताइएको छ।
घाइतेहरूको उपचार गौशालास्थित बिके अस्पताल तथा स्थानीय मेडिकलमा भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।


