कुलतले खोस्दै गएको युवा पुस्ताको भविष्य

तोमनाथ उप्रेती । मानव सभ्यताको इतिहास मानिसभित्रको विवेक र वासनाबीचको निरन्तर संघर्षको इतिहास हो। आदिम मानवले आगोको आविष्कार गर्‍यो, नदी किनारमा बस्ती बसायो, कृषिको विकास गर्‍यो, भाषा निर्माण गर्‍यो, धर्म र दर्शनको सिर्जना गर्‍यो। यही यात्राले सभ्यताको जग बसाल्यो। तर इतिहासले अर्को कठोर सत्य पनि साक्षी राखेको छ—जुन सभ्यताले आफ्नो नैतिक अनुशासन गुमायो, त्यो बाह्य शक्तिले भन्दा पहिले आफ्नै कमजोरीले ढल्यो।

प्राचीन रोममा अत्यधिक विलासिता र मदिराप्रतिको आसक्तिले सामाजिक अनुशासन कमजोर बनायो। चीनका केही कालखण्डमा अफिमको महामारीले सम्पूर्ण पुस्तालाई निष्क्रिय बनायो। भारतका ऋषिहरूले इन्द्रियनिग्रहलाई ज्ञानको पहिलो सोपान भने, किनकि उनीहरूलाई थाहा थियो—बाहिरी शत्रुभन्दा खतरनाक शत्रु मानिसभित्रै लुकेको हुन्छ। बुद्धले तृष्णालाई दुःखको मूल कारण भने; गीता भन्छ—इच्छाबाट मोह, मोहबाट क्रोध, क्रोधबाट विवेकको विनाश र विवेकको विनाशबाट सम्पूर्ण पतन हुन्छ।
कुनै पनि राष्ट्रको भविष्य उसको युवा पुस्ताको चरित्रमा निर्भर हुन्छ। युवा चेतना उज्यालो भए राष्ट्र उज्यालो हुन्छ। युवा चेतना कुलतको अन्धकारमा हराए भविष्य नै अन्धकारमय बन्छ।यही सत्यको खोजीमा म एउटा यात्रा निस्किएको थिएँ।

वर्षाको अन्तिम महिना थियो। हिमालका टाकुरामाथि बादल सुस्तरी घस्रिरहेका थिए। पहाडका काखमा उम्रिएका गुराँसका रुखहरू वर्षाको पानीले अझ हराभरा देखिन्थे। बगेको खोलाको सङ्गीतले यात्राको थकान हराइदिएको थियो। म पश्चिम नेपालको एउटा पहाडी जिल्लातर्फ जाँदै थिएँ। उद्देश्य पर्यटन थिएन। म एउटा प्रश्नको उत्तर खोज्दै थिएँ—
“किन आजको पुस्ता अवसरको शिखरमा उभिएर पनि निराशाको बाँदलमा झर्दै छ?”

गाडी साँघुरो घुम्ती पार गर्दै उकालो चढिरहेको थियो। झ्यालबाट बाहिर हेर्दा तल गहिरो खोँच, माथि कुहिरो र बीचमा घुमाउरा सडक। मलाई लाग्यो मानिसको जीवन पनि यस्तै रहेछ। एउटा सानो असावधानीले गहिरो खाडलमा पुर्‍याउन सक्छ।

(तोमनाथ उप्रेती)

गन्तव्य एउटा गाउँ थियो, जहाँ केही वर्षअघि विद्यालयका उत्कृष्ट विद्यार्थीमध्ये धेरै लागूऔषधको कुलतमा फसेका थिए भन्ने समाचार आएको थियो।

गाउँ पुग्दा साँझ ढल्किसकेको थियो। पश्चिम क्षितिजमा अस्ताउँदै गरेको सूर्यले आकाशलाई सुनौलो र राता रङले रंगाइरहेको थियो। चौतारोको पुरानो पीपलमुनि केही वृद्धहरू चुपचाप बसिरहेका थिए। उनीहरूको मौनता सामान्य मौनता थिएन; त्यो समयले थिचेको पीडा, अनुभवले बोकेको वेदना र हराउँदै गएको पुस्ताप्रतिको गहिरो चिन्ताको मौनता थियो। वरिपरि चराहरू गुँडतिर फर्किरहेका थिए, तर गाउँको वातावरणमा जीवनको चहलपहलभन्दा बढी उदासीको गन्ध मिसिएको थियो।
मैले एक वृद्धको नजिक पुगेर नम्रतापूर्वक सोधेँ, “बाजे, गाउँ निकै शान्त रहेछ।”

उहाँले केही क्षण मलाई हेर्नुभयो। अनुहारमा हल्का मुस्कान देखिए पनि आँखाभित्र वर्षौंको पीडा लुकेको थियो। बिस्तारै भन्नुभयो, “छोरा, यो शान्ति होइन, यो त आवाज हराएको गाउँ हो। कुनै समय यही चौतारोमा युवाहरूको हाँसो, गीत र बहसले दिन बित्थ्यो। साँझ पर्दा यही ठाउँ जीवनले भरिन्थ्यो। अहिले धेरै रोजगारीको खोजीमा सहर वा विदेश गए। बाँकीमध्ये कतिपय कुलतको कालो सुरुङमा हराए। घर छन्, आँगन छन्, तर सपनाहरू छैनन्।”

उहाँका शब्दहरूले मेरो मनभित्र एउटा गहिरो कम्पन पैदा गरिदिए। “आवाज हराएको गाउँ” यो आजको ग्रामीण नेपालको मौन यथार्थ थियो। मैले मनमनै सोचें,नेपालमा यस्ता आवाज हराएका गाउँहरू आखिर कति होलान्? जहाँ खेत छन् तर किसान छैनन्, विद्यालय छन् तर विद्यार्थीको उत्साह हराएको छ, र परिवार छन् तर भविष्यप्रतिको भरोसा बिस्तारै मर्दै गएको छ।

भोलिपल्ट बिहान म गाउँको माध्यमिक विद्यालयतर्फ लागेँ। विद्यालयको पछाडिपट्टि एउटा सानो पोखरी थियो। पानीको सतहमा बिहानको सूर्यको किरण चम्किरहेको थियो, तर त्यसको किनारमा बसेको एउटा युवकको अनुहारमा कुनै उज्यालो थिएन। उसको आँखामुनि गहिरा कालो घेरा थिए, आँखा राताम्मे देखिन्थे, दाह्री बढेको थियो र अनुहारमा उमेरभन्दा धेरै थकान र निराशाको रेखा कोरिएको थियो। तर ती थाकेका आँखाभित्र कतै एउटा बुद्धिमत्ताको झिल्को अझै निभिसकेको थिएन।

विद्यालयका प्रधानाध्यापक बिस्तारै मेरो नजिक आएर फुसफुसाए, “यसको नाम अर्जुन हो। पाँच वर्षअघि यही विद्यालयको सबैभन्दा प्रतिभाशाली विद्यार्थी। जिल्लास्तरीय विज्ञान प्रतियोगितामा पहिलो भएको थियो। इन्जिनियर बन्ने सपना देख्थ्यो। आज उसको परिचय प्रतिभाले होइन, कुलतले बनाइदिएको छ।” त्यो वाक्यले मन भारी भयो। एउटा सपना कसरी लतमा बदलिन्छ? एउटा प्रतिभाशाली विद्यार्थी कसरी आफ्नै जीवनको कैदी बन्छ? यिनै प्रश्न बोकेर म अर्जुनको छेउमा गएर चुपचाप बसें। हामी दुवै केहीबेर केही बोलेनौँ। पोखरीमा बतासले सिर्जना गरेका हल्का छालहरू मात्रै सुनिन्थे। त्यसपछि उसले एक्कासि मेरो अनुहारतिर हेर्दै भन्यो, “सर, तपाईं मलाई सुधार्न आउनुभएको हो कि बुझ्न?”

प्रश्न अप्रत्याशित थियो। त्यो प्रश्नमा विद्रोहभन्दा धेरै निराशा थियो, आरोपभन्दा धेरै पीडा थियो। मैले मुस्कुराउँदै उत्तर दिएँ, “सुधार्ने शक्ति मसँग छैन, अर्जुन। म त केवल बुझ्ने प्रयास गर्न आएको हुँ। कहिलेकाहीँ मानिसलाई उपदेशभन्दा पहिले कसैले उसको पीडा सुन्नु आवश्यक हुन्छ।” मेरो उत्तर सुनेपछि उसले पहिलो पटक सिधै मेरो आँखामा हेर्‍यो। सायद धेरै समयपछि कसैले उसलाई अपराधीका रूपमा होइन, मानिसका रूपमा हेरेको थियो। केही क्षणपछि उसले आफ्नो पुरानो झोलाभित्र हात हाल्यो र धुलोले ढाकिएको एउटा डायरी निकाल्यो। डायरीका कुनाहरू च्यातिएका थिए, तर उसले त्यसलाई अत्यन्त सावधानीका साथ समातेको थियो। “मेरो कथा पढ्नुहुन्छ?” उसले बिस्तारै सोध्यो।

मैले डायरी खोलेँ। पहिलो पृष्ठमै केही हरफले मेरो ध्यान तान्यो—
“जब म पहिलो पटक कुलततिर लागेँ, मलाई लाग्यो,म स्वतन्त्र हुँदैछु। पछि थाहा भयो, त्यो स्वतन्त्रता होइन, अदृश्य दासत्वको सुरुआत रहेछ।”
डायरीका पानाहरू आँसुले भिजेका जस्ता देखिन्थे। कतै अक्षर धमिला भएका थिए, कतै शब्दहरूबीच मौन पीडा लुकेको थियो। अर्को पृष्ठमा उसले लेखेको थियो—
“पहिलो चुरोट साथीको आग्रहमा खाएँ। दोस्रो आफ्नै इच्छाले। तेस्रो आवश्यकता बन्यो। त्यसपछि म चुरोट खान्थिनँ, चुरोटले मलाई खान थाल्यो।”

म लामो समयसम्म त्यो वाक्यमा अडिएँ। त्यो एउटा युवाको आत्मस्वीकारोक्ति मात्र थिएन, यो कुलतको सम्पूर्ण मनोविज्ञानको सार थियो। कुनै पनि कुलत सुरुमै मालिक भएर आउँदैन। सुरुमा मानिसले त्यसलाई नियन्त्रण गरेको भ्रम पाल्छ। तर बिस्तारै भूमिकाहरू उल्टिन्छन्। एक दिन यस्तो क्षण आउँछ, जब मानिसले कुलत प्रयोग गरिरहेको हुँदैन; बरु कुलतले मानिसलाई प्रयोग गरिरहेको हुन्छ। मानिसको स्वतन्त्र इच्छा, आत्मविश्वास, सपनाहरू, सम्बन्ध र भविष्य सबै विस्तारै त्यसकै नियन्त्रणमा पुगिसकेका हुन्छन्। यही क्षणदेखि कुलत कुनै बानी मात्र रहँदैन, त्यो व्यक्तित्व, परिवार र अन्ततः सम्पूर्ण समाजलाई निल्न थालेको एउटा कालो सुरुङमा रूपान्तरित हुन्छ।

अर्जुनले बिस्तारै उठ्दै मलाई भन्यो, “सर, तपाईंलाई एउटा ठाउँ देखाउन चाहन्छु।” उसको स्वरमा आग्रहभन्दा बढी कुनै अनकही कथा सुनाउने चाहना थियो। हामी गाउँभन्दा तल बगेको नदीतर्फ लाग्यौँ। बाटो साँघुरो थियो। दुवैतर्फ मकैका बारी हावासँगै लहराइरहेका थिए। कतै चरीहरूको चिरबिराहट सुनिन्थ्यो, कतै टाढाको मन्दिरबाट घण्टीको धुन आइरहेको थियो। तर हाम्रो यात्रामा मौनताकै आवाज सबैभन्दा ठूलो थियो। कहिलेकाहीँ शब्दहरूले भन्न नसक्ने कुरा मौनताले सजिलै व्यक्त गर्छ, र त्यो दिन हाम्रो मौनता दुई अपरिचित मानिसबीच जन्मिँदै गरेको विश्वासको भाषा बनेको थियो।

केहीबेरपछि हामी नदीकिनारमा पुग्यौँ। वर्षायामको पानीले नदीलाई उर्लाएको थियो। तीव्र वेगमा बगिरहेको पानीले ठूला–ठूला ढुङ्गासमेत निरन्तर ठोक्काउँदै अघि बढिरहेको थियो। अर्जुन केही क्षण नदीतिर टोलाएर उभियो। त्यसपछि झुकेर एउटा सानो ढुङ्गा टिप्यो र पानीको बीचतिर फालिदियो। ढुङ्गा केही क्षण सतहमा उफ्रियो, अनि गहिराइमा हरायो।

ऊ बिस्तारै बोल्यो, “सर, यो ढुङ्गाजस्तै हो हाम्रो जीवन।”
उसको आवाजमा यस्तो पश्चात्ताप थियो, जुन कुनै अदालतको सजायभन्दा पनि कठोर हुन्छ। मैले नदीको बहावतिर हेरेँ। पानीले बगाएका प्रत्येक ढुङ्गा मानौँ जीवनका अधुरा सपनाजस्ता लागिरहेका थिए। मलाई लाग्यो, मानिसको नियति पनि नदीजस्तै हो। सही दिशामा बगे जीवन सिंचाइ बन्छ, गलत दिशामा बगे बाढी बन्छ। अन्तर पानीमा होइन, दिशामा हुन्छ।

नदीबाट फर्कँदै गर्दा एउटा पुरानो घरको आँगनमा हामी रोकियौँ। त्यहाँ एउटी वृद्धा चौकीमा बसेर बाटोतिर टोलाइरहेकी थिइन्। अनुहारमा उमेरका चाउरीहरू थिए, तर आँखामा अझै कसैको प्रतीक्षाको उज्यालो निभेको थिएन। अर्जुन अचानक रोकियो। उसको स्वर निकै मलिन थियो।

“उहाँ… मेरी आमा।”
हामीलाई देख्नेबित्तिकै आमाले मुस्कुराउने प्रयास गरिन्। त्यो मुस्कानमा स्वागतभन्दा बढी पीडा थियो। यस्तो लाग्थ्यो, उहाँले धेरै वर्षदेखि आँसु लुकाएर मुस्कुराउन सिक्नुभएको थियो। छोराको अनुहारमा एकछिन नजर टिकाइरहिन्, अनि विस्तारै हातले उसको कपाल सुम्सुम्याउनुभयो। कुनै गुनासो थिएन, कुनै प्रश्न थिएन। केवल आमाको निस्वार्थ माया थियो, जसले हजारौँ चोट सहेर पनि सन्तानलाई अँगालो हाल्न कहिल्यै बिर्सँदैन।

त्यो दृश्यले मेरो मन छोयो। मलाई लाग्यो, लागूऔषधले एउटा युवकको जीवन मात्र नष्ट गर्दैन। यसले एउटी आमाको निद्रा चोर्छ, एउटा बुबाको आत्मविश्वास भत्काउँछ, बहिनीको गर्व खोस्छ, भाइको आदर्श हराउँछ र एउटा परिवारको भविष्यलाई बिस्तारै खाइदिन्छ। कुलत कुनै व्यक्तिको निजी कमजोरी मात्र होइन; यो एउटा घरको मौन शोक, एउटा समाजको सामूहिक पीडा र राष्ट्रको भविष्यमा लागेको गहिरो घाउ हो। जब एउटा युवा कुलतमा फस्छ, उसँगै एउटा परिवारको सपना पनि बिस्तारै श्वास फेर्न छोड्छ।

त्यो रात म गाउँकै एउटा सानो होमस्टेमा बसें। बाहिर झ्याउकिराहरूको एकनासे सङ्गीत चलिरहेको थियो। टाढाका पहाडहरू चन्द्रमाको फिका उज्यालोमा रहस्यमय देखिन्थे। आकाशभरि असङ्ख्य ताराहरू टल्किरहेका थिए। प्रकृति अत्यन्त शान्त थियो, तर मेरो मनभित्र प्रश्नहरूको आँधी चलिरहेको थियो। किन मानिस आफैँलाई नष्ट गर्ने बाटो रोज्छ? किन उज्यालो भविष्य बोकेका युवाहरू अन्धकारको सुरुङमा हराउँछन्? किन क्षणिक आनन्दका लागि उनीहरू दीर्घकालीन जीवनलाई दाउमा लगाउँछन्?
यिनै प्रश्नसँग संघर्ष गर्दै गर्दा बुद्धको एउटा वचन स्मृतिमा आयो—“मन नै सबै कुराको मूल हो।” अचानक मैले महसुस गरेँ, समस्या पदार्थमा मात्र हुँदैन; समस्या मानिसभित्र सिर्जना भएको रिक्ततामा हुन्छ। लागूऔषध कारण होइन, धेरैपटक परिणाम हुन्छ—अपूर्ण सम्बन्धहरूको, दिशाविहीन जीवनको, आत्मसम्मानको अभावको र अर्थहीन अस्तित्वको परिणाम।

जहाँ जीवनको उद्देश्य हराउँछ, त्यहाँ कुलतले सजिलै ठाउँ बनाउँछ। जहाँ प्रेमको अभाव हुन्छ, त्यहाँ नशाले केही समयका लागि नक्कली सान्त्वना दिन्छ। जहाँ परिवारभित्र संवाद मर्छ, त्यहाँ सडकले नयाँ भाषा सिकाउँछ। जहाँ विद्यालयले विद्यार्थीलाई केवल परीक्षा पास गर्न सिकाउँछ, तर असफलता सहन, भावना व्यवस्थापन गर्न र जीवनको अर्थ बुझ्न सिकाउँदैन, त्यहाँ युवा पुस्ता भ्रम, दबाब र प्रलोभनको शिकार बन्न धेरै समय लाग्दैन। जब समाजले सफलताको मापन केवल धन, पद र बाह्य उपलब्धिबाट गर्न थाल्छ, त्यतिबेला भित्री शून्यता विस्तारै कुलतको उर्वर भूमि बन्छ।

मैले आफ्नो डायरी खोलें र त्यस दिनको यात्राको निष्कर्ष एउटा वाक्यमा लेखेँ—
“कुलतको उपचार औषधिले मात्र हुँदैन; यसको वास्तविक उपचार उद्देश्यले हुन्छ, प्रेमले हुन्छ, आत्मसम्मानले हुन्छ, परिवारको साथले हुन्छ, र सबैभन्दा बढी चेतनाको जागरणले हुन्छ। मानिसको शरीरलाई अस्पतालले निको पार्न सक्छ, तर आत्मालाई पुनर्जीवित गर्ने शक्ति सही मूल्य, सही सम्बन्ध र सही जीवनदर्शनसँग हुन्छ।” त्यो रात निदाउनुअघि मलाई एउटा सत्य स्पष्ट भयो।मानिसलाई कुलतबाट बचाउनुभन्दा पनि ठूलो काम उसलाई त्यस्तो जीवन दिनु हो, जहाँ कुलतको आवश्यकता नै महसुस नहोस्। किनकि उज्यालोले भरिएको घरमा अन्धकारले कहिल्यै स्थायी बास बस्न सक्दैन।

अर्को बिहान अर्जुनले मलाई गाउँको उत्तरतर्फ रहेको एउटा पुरानो सुरुङजस्तो बाटो देखाउन लैजान आग्रह गर्‍यो। उकालो बाटो हुँदै हामी केहीबेर हिँड्यौँ। वरिपरि झाडीले ढाकेका ढिस्काहरू थिए। बीच–बीचमा भत्किएका ढुङ्गाका पर्खालहरूले कुनै समय यहाँ मान्छेको चहलपहल भएको संकेत दिइरहेका थिए। केही समयपछि हामी एउटा अँध्यारो मुख भएको सुरुङअगाडि पुग्यौँ। गाउँलेहरूले बताएअनुसार वर्षौंअघि त्यहाँ खानी सञ्चालन हुन्थ्यो। अहिले खानी बन्द थियो। बाँकी थियो त केवल समयको धुलो, भत्किएका पर्खाल र भित्र फैलिएको गहिरो अन्धकार।

अर्जुन सुरुङको मुखमा केहीबेर टोलाइरह्यो। उसका आँखामा स्मृति, पीडा र आत्मस्वीकारोक्तिको मिश्रित भाव देखिन्थ्यो। उसले बिस्तारै भन्यो, “सर, मेरो जीवन पनि यही सुरुङजस्तै भयो। सुरुमा मलाई लाग्यो, यसको भित्र धन छ, रमाइलो छ, स्वतन्त्रता छ। जति भित्र पसेँ, त्यति नै बाहिरको उज्यालो हराउँदै गयो। धेरै ढिलो भएपछि मात्र थाहा भयो—बाहिर फर्किने बाटो त मैले आफैँ हराइसकेको रहेछु।”

उसको शब्दले सुरुङको अन्धकारभन्दा गहिरो मौनता सिर्जना गरिदियो। म केही पाइला भित्रतिर बढेँ। सुरुङको चिसो हावा अनुहारमा ठोक्कियो। प्रत्येक पाइला अगाडि बढ्दै जाँदा उज्यालो पछाडि छुट्दै गयो र अन्धकार बाक्लिँदै गयो। त्यो क्षण मलाई लाग्यो, यो केवल एउटा पुरानो खानी थिएन; यो त हजारौँ युवाको जीवनको प्रतीक थियो।
अचानक एउटा गहिरो अनुभूति मनमा जन्मियो। कुलत पनि ठीक यही सुरुङजस्तै रहेछ। पहिलो पाइला जिज्ञासाले चालिन्छ। दोस्रो साथीहरूमाझ साहसी देखिने चाहनाले। तेस्रो सामाजिक दबाबले। त्यसपछि भने मानिस आफैँ हिँडिरहेको हुँदैन। अन्धकारले उसलाई बिस्तारै तानिरहेको हुन्छ। सुरुमा उसले कुलतलाई नियन्त्रण गरेको भ्रम हुन्छ, तर अन्ततः कुलतले नै उसको सोच, व्यवहार, सम्बन्ध, स्वास्थ्य र भविष्यलाई नियन्त्रण गर्न थाल्छ। सुरुङभित्र पस्न केही क्षण लाग्छ, तर त्यहाँबाट बाहिर निस्कन वर्षौँको संघर्ष, असाधारण इच्छाशक्ति र समाजको साथ आवश्यक पर्छ।

सुरुङको अन्त्यमा मैले कुनै उज्यालो देखिनँ। तर मनले एउटा अर्को सत्य देख्यो,जीवनको प्रत्येक सुरुङको अन्त्यमा भौतिक प्रकाश नहुन पनि सक्छ, तर आत्मबोध, पश्चात्ताप र चेतनाको उज्यालो सधैँ सम्भव हुन्छ। मानिसले आफू हराएको स्वीकार गरेको क्षणदेखि नै फर्किने यात्रा सुरु हुन्छ। पुनर्जन्म शरीरको होइन, चेतनाको हुन्छ।
म फर्केर अर्जुनतर्फ हेरेँ। हिजोसम्म निराशाले भरिएका उसका आँखामा आज पहिलो पटक आशाको सानो किरण झल्किरहेको थियो। त्यो आशा पूर्ण विजयको घोषणा थिएन, तर सही दिशातर्फ चालिएको पहिलो पाइला अवश्य थियो। मैले महसुस गरेँ—हाम्रो यात्रा गाउँसम्म आइपुगेर समाप्त भएको थिएन; वास्तविक यात्रा त अब एउटा युवाको अन्तर्मनभित्र सुरु हुँदै थियो।

भोलिपल्ट बिहान हामी दुवै गाउँमाथिको डाँडातर्फ उक्लियौँ। पूर्व क्षितिजमा सूर्य बिस्तारै उदाउँदै थियो। सुनौलो किरणले हिमालका चुचुराहरूलाई उज्यालोले नुहाइदिएको थियो। तल गाउँका घरहरू कुहिरोको पातलो घुम्टोभित्र लुकिरहेका थिए। चिसो बतासले अनुहार छोइरहेको थियो। प्रकृतिले मानौँ मौन भाषामा एउटा शाश्वत सत्य दोहोराइरहेको थियो—रात जतिसुकै लामो भए पनि सूर्यको उदय रोक्न सकिँदैन। अन्धकार स्थायी होइन; स्थायी त प्रकाशतर्फको यात्रा हो। यही प्रकृतिको नियम मानिसको जीवनमा पनि लागू हुन्छ।

डाँडाको टुप्पोमा पुगेर अर्जुन धेरैबेर केही बोलेन। ऊ टाढा देखिएको विद्यालयतिर एकटक हेरिरह्यो। त्यसपछि काँपिरहेको स्वरमा भन्यो, “त्यही कक्षाकोठामा म जिल्लाको उत्कृष्ट विद्यार्थी कहलिन्थेँ। शिक्षकहरूले मेरो उत्तरपुस्तिका अरूलाई देखाएर उदाहरण दिनुहुन्थ्यो। सबैले भन्थे—‘यो केटाले एक दिन देशकै नाम राख्नेछ।’ तर आज त्यही विद्यालयको बाटो हिँड्न पनि लाज लाग्छ। त्यहाँ मेरा सपनाहरू बाँकी छन्, तर म भने उनीहरूलाई बीच बाटोमै छोडेर अन्धकारतिर लागेँ।”
उसको आवाजमा केवल पछुतो थिएन; त्यो त आफ्नै जीवनसँग गरिएको अन्यायको स्वीकारोक्ति थियो। कहिलेकाहीँ मानिसले संसारलाई भन्दा धेरै क्षति आफ्नै सम्भावनालाई पुर्‍याउँछ। प्रतिभा हराउँदैन, तर गलत बाटोले त्यसलाई वर्षौँसम्म कैद गरेर राख्न सक्छ।

मैले शान्त स्वरमा सोधेँ, “अर्जुन, तिम्रो यात्रा आखिर कहाँबाट मोडियो?”
उसले लामो सास फेर्‍यो। केही क्षण आकाशतिर हेरेर भन्यो, “घरमा सबैले मेरो सफलताको सपना देख्थे। राम्रो अंक ल्याउने दबाब थियो। असफल हुने डर थियो। त्यसैबीच नयाँ साथीहरू भेटिए। सुरुमा चुरोटलाई सामान्य ठान्यौँ। त्यसपछि मदिरालाई आधुनिकताको प्रतीक मान्यौँ। अन्ततः लागूऔषधलाई स्वतन्त्रताको स्वाद सम्झियौँ। हामीलाई लाग्यो, हामी नयाँ जीवन बाँचिरहेका छौँ। तर पछि थाहा भयो—स्वतन्त्रताको नाममा हामीले आफ्नै स्वतन्त्रता बेचिरहेका रहेछौँ। आफूलाई प्रमाणित गर्न खोज्दा आफ्नै अस्तित्व गुमाइसकेका रहेछौँ।”

उसको आत्मस्वीकारोक्तिले मलाई गहिरो चिन्तनमा डुबायो। जीवनका धेरै दुर्घटनाहरू एकैचोटि हुँदैनन्। ती साना–साना गलत निर्णयहरूको निरन्तर दोहोराइबाट जन्मिन्छन्। नदीले पहाडलाई एकै दिनमा काट्दैन; निरन्तर बग्ने पानीले कठोर शिलालाई पनि चिर्छ। विषको प्रभाव एकै थोपा बाट प्रकट नहुन सक्छ, तर निरन्तर सेवनले सम्पूर्ण शरीरलाई कमजोर बनाउँछ। कुलत पनि त्यस्तै हो। यसको सुरुवात सानो प्रयोगबाट हुन्छ, तर अन्त्य मानिसको सम्पूर्ण व्यक्तित्वको विघटनमा पुग्छ।
डाँडाबाट ओरालो झर्दै गर्दा हामी एउटा विशाल बरको रुखमुनि पुग्यौँ। रुखको छहारीमा एक वृद्ध गुरु गाउँका बालबालिकालाई कथा सुनाइरहनुभएको थियो। उहाँको अनुहारमा अद्भुत शान्ति थियो। हामी पनि चुपचाप उनीहरूको छेउमा बस्यौँ।

केहीबेरपछि गुरुले बालबालिकातर्फ हेर्दै प्रश्न गर्नुभयो, “बताऊ त, संसारको सबैभन्दा ठूलो युद्ध कुन हो?” बालबालिकाले उत्साहका साथ उत्तर दिन थाले—कसैले महाभारत भन्यो, कसैले प्रथम विश्वयुद्ध, कसैले दोस्रो विश्वयुद्ध, कसैले सीमामा हुने युद्ध।

गुरु मुस्कुराउनुभयो। उहाँले वरिपरि बसेका सबैलाई एकपटक नियालेर गम्भीर स्वरमा भन्नुभयो, “ती सबै युद्ध इतिहासका पानामा लेखिएका युद्ध हुन्। तर संसारको सबैभन्दा ठूलो युद्ध मानिसले आफ्नै मनसँग लड्ने युद्ध हो। बाहिरी शत्रु देखिन्छ, त्यसका विरुद्ध सेना खडा गर्न सकिन्छ। तर भित्री शत्रु देखिँदैन। काम, क्रोध, लोभ, मोह, अहङ्कार र कुलत—यी सबै अदृश्य शत्रु हुन्। जसले आफ्ना इच्छाहरूलाई नियन्त्रण गर्न सिक्छ, उसलाई संसारको कुनै शक्ति पराजित गर्न सक्दैन। तर जसले आफ्नै मनसँग हार्छ, उसले संसार जितेर पनि अन्ततः सबै कुरा गुमाउँछ।”

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।