बाढीले मोटरसाइकल सहित बगाएका चालकको प्रहरीले गर्यो सकुशल उद्धार
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक जना चालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
अविरल वर्षापछि पितमारी खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका कैलालीको बर्दगोरिया गाउँपालिका–२ निवासी ३९ वर्षीय लौटन थारुले चलाएको से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो।
बिहीबार राति करिब ८:३० बजे इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक मीरा खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलभन्दा करिब १५० मिटर तल भिरालो खोलामा बगिरहेको अवस्थामा थारुको तत्काल सकुशल उद्धार गरेको हो।
उद्धार गरिएका थारुको ढाड र दाहिने कुहिनोमा सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
उद्धारपछि थारुलाई आवश्यक उपचार तथा जाँचपश्चात् आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


