१० वर्षपछि ‘तिम्ले बाटो फेरेउ अरे’को रिभाइव भर्सन सार्वजनिक
हिराराज राई,धनकुटा । चर्चित नेपाली गीत ‘तिम्ले बाटो फेरेउ अरे’को REVIVE Version सार्वजनिक गरिएको छ। गीतका सर्जक दर्पन राईले लोकप्रिय पुरानो गीतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै यसपटक गायिका जिग्मे छ्योकी घिसिङको स्वरमा नयाँ संस्करण श्रोतामाझ ल्याएका हुन्।
नेपाली संगीतप्रेमीमाझ अत्यन्त लोकप्रिय बनेको ‘तिम्ले बाटो फेरेउ अरे’ गीतका यसअघि सिक्वेल–१, २ र ३ सार्वजनिक भइसकेका छन्। विशेषगरी सिक्वेल–१ सार्वजनिक भएको १० वर्षपछि यसको REVIVE Version सार्वजनिक गरिएको हो।
नयाँ संस्करणमा शब्द दर्पन राई, संगीत टंक बुढाथोकी, एरेन्ज बिशम आचार्य, मिक्सिङ तथा मास्टरिङ किशोर थापा र रेकर्डिस्ट राजेश श्रेष्ठ रहेका छन्। गीतको रेकर्डिङ एवन स्टुडियोमा गरिएको हो।
दर्पन राई गीतकार मात्र नभएर मोडेल पनि हुन् र गीतलाई MMS Entertainment Pvt. Ltd. को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
पुरानो गीतको भावनात्मक पक्षलाई जोगाउँदै आधुनिक सङ्गीत संयोजन र नयाँ स्वरको समिश्रणमा तयार पारिएको यस REVIVE Version ले पुराना श्रोताका सम्झनालाई पुनः ताजा गराउनुका साथै नयाँ पुस्तामाझ पनि उत्तिकै लोकप्रिय हुने अपेक्षा गरिएको छ।


