सामुदायिक वनबाट ४ थान भरुवा बन्दुक बरामद
दैलेख । दुल्लु नगरपालिका–९ प्यादुरस्थित सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा ४ थान भरुवा बन्दुक बरामद गरेको छ।
प्रहरीका अनुसार भदौ ८ गते दिउँसो करिब २ः३० बजे इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमाण्डमा खटिएको पाँच जनाको टोलीले काफलकोट सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा ३ थान एकनाले भरुवा बन्दुक फेला पारेको थियो।
त्यसपछि उक्त स्थानबाट करिब ५०० मिटर उत्तरतर्फ थप एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
बरामद भएका चारवटै भरुवा बन्दुक इलाका प्रहरी कार्यालय दुल्लुमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

