कोशीमा लागू औषध सहित ५ जना पक्राउ
विराटनगर, भदौ ९ गते । उदयपुर, झापा, सुनसरी र मोरङबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
भदौ ८ गते झापाको अर्जुनधारा नगरपालिका–६, महानन्द चोकबाट इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले इलामको चुलाचुली नगरपालिका–१ का २१ वर्षीय सन्जोक लुइटेललाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। सोही स्थानबाट बिर्तामोड नगरपालिका–४ का २४ वर्षीय अरबस अन्सारीलाई ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित अन्नपूर्ण चोकमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले सोही स्थानका २० वर्षीय सुमित पौदारलाई १२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–५, मुसहरीटोलमा हातमा धारिलो हतियार तरवार बोकेर स्थानीयलाई त्रसित बनाइरहेको सूचना पाएपछि प्रहरी चौकी भरौलबाट खटिएको टोलीले १८ वर्षीय मनोज मुसहर र रामधुनी नगरपालिका–५ हात्तिसारका ३० वर्षीय मनिराज राईलाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट ट्रामाडोल २१० पिस, नाइट्रोसन ५० पिस प्रतिबन्धित औषधि तथा धारिलो हतियार तरवार बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

