गोलबजार–३ गागन खोलामा महिलाको शव फेला, पहिचान खुल्यो
सिरहा, ९ भदौं । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला किनारमा मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ।
मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको खुलेको हो।
प्रहरीका अनुसार खातुन सोमबारदेखि परिवारको सम्पर्कविहीन थिइन्। खोजी गर्ने क्रममा मंगलबार गोलबजार–३ स्थित गागन खोला नजिकै झाडीमा उनको शव फेला परेको थियो।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

