रसुवा बाढीमा मधेश प्रदेशका करीब ४ दर्जन सम्पर्कविहिन
सुभाष कायस्थ /जनकपुरधाम, १२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाका करीब चार दर्जन जना सम्पर्कविहीन भएको प्रदेश प्रहरीले जनाएको छ । मधेश प्रदेश प्रहरी र विभिन्न जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म ४६ जना समम्पर्कविहीन रहेका छन् ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा पर्साका १० जना सम्पर्कविहीन छन् । त्यस्तै, महोत्तरीका ११ जना, सर्लाहीका ७ जना, धनुषाका ३ जना, बाराका ८ जना, रौतहटका २ जना र सप्तरीका ५ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ । बाढीमा सम्पर्कविहिन हुनेहरूमा अधिकांश अपर त्रिशुली जलविद्युत आयोजना र हाइड्रोपावरमा काम गर्ने इन्जिनियर तथा सिभिल रहेको जनाइएको छ ।
प्रदेश प्रहरीका अनुसार सम्पर्कविहिन हुनेहरुमा पर्सा जिल्लाका नारायण पटेल, श्यामबाबु ठाकुर, कमरुल होदा अन्सारी, अनुतम बहादुर श्रेष्ठ, पृथ्वी चौधरी, श्यामलाल मोक्तान, पर्सा नजिक मकवानपुर हेटौडाका घनश्याम बास्तौला, अभिषेक वास्तौला, आकाश तामाङ, उकेश दंगोल, बारा जिल्लाका सुबोध पटेल, अरुण हजरा, सुभाष पटेल, समिम देवान, दिनेश परियार, नमनारायण सिंह, प्रकाश राम, अंकित पटेल रहेका छन् ।
यस्तै रौतहट जिल्लाका गौरव राउत, शेख मजिद, सर्लाही जिल्लाका ज्ञानबहादुर थिङ, माधव काफ्ले, उनका छोरा अनुज काफ्ले, कृष्णप्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा, सुनिल कुशवाहा र सप्तरी जिल्ला बोदेबरसाईन नगरपालिका ८ काचनटोल एकै परिवारका तीनजना दाजुभाई सचित यादव, शिवकुमार यादव, देवकुमार यादवसहित जिल्लाका अजयकुमार यादव, र साजन चौधरी रहेका छन् ।
धनुषाबाट अजय सिंहसहित ३/४ जना सम्पर्क रहेको छ । तर, त्यसको विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार महोत्तरीबाट सम्पर्कविहिन हुनेहरुमा अपर त्रिशुलीमा कार्यरत बर्दिबास नगरपालिकाका सौभाग्य विष्ट, जौया राना मगर, गौशाला नगरपालिकाका विजयथापा मगर, त्रिशुली हाइड्रोपावरमा कार्यरत पिपरा गाउँपालिकाका विकास यादव, जलेश्वरका राकेशकुमार यादव, नुवाकोटको चिसाङपुर सब स्टेशनमा कार्यरत लोहारपट्टी नगरपालिकाका युवराज पाण्डे, चिलिमे सव स्टेशनमा कार्यरत औरही नगरपालिका ३ का सचिन कुमार यादव, पर्यटक गाडी चालक लेश्वरका सुशिल लाल दास, गौशाला ८ का सीतल लुङ्गेली र साइमान लुङ्गेली रहेका छन् ।
मधेशका विभिन्न जिल्लाबाट रोजगारी तथा व्यवसायका सिलसिलामा रसुवा पुगेका व्यक्तिहरू बाढीपछि परिवारसँग सम्पर्कमा आउन नसकेको बताइएको छ । सम्पर्कविहीन व्यक्तिका परिवारजन चिन्तित बनेका छन् । यसैबीच प्रदेश प्रहरी प्रवक्ता प्रभु प्रसाद ढकालका अनुसार सम्पर्कविहिन रहेका मध्ये पर्सा जिल्लाका श्यामलाल मोक्तान भन्ने व्यक्तिको सकुशल उद्धार गरिएको हो ।
यता प्रहरीले प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्कविहीन व्यक्तिबारे थप विवरण संकलन भइरहेको जनाएको छ । प्रदेश प्रहरी र जिल्ला प्रशासन कार्यालयले बाढीमा परेर कोही कसैको कुनै व्यक्ति सम्पर्कविहिन रहेको छ भन्ने नजिकको प्रहरी चौकीमा गएर विवरण टिपाउन अनुरोध गरेका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी ओमप्रसाद अधिकारीले हामीले विभिन्न सामाजिक सञ्जाल मार्फत र जिल्ला प्रहरी कार्यालय तथा इप्रकाहरुमा सम्पर्कविहीन भएका व्यक्तिको विवरण टिपाउन अनुरोध गरेका छन् । प्राप्त विवरण अनुसार केन्द्रीय कार्यालय तथा उद्धार टोलीसँग खोजीका समन्वय गरिएको छ ।


