देशभरका प्रमुख राजमार्ग अवरुद्ध
काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरूमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ।
नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो र लेदो खस्दा सडक पूर्ण रूपमा ठप्प हुनुका साथै नदी तटीय तथा जोखिमयुक्त सडकखण्डहरूमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
राजधानी जोड्ने मुख्य धमनी मानिने पृथ्वी राजमार्गका विभिन्न स्थानमा दुवैतर्फको आवागमन ठप्प बनेको छ। धादिङको बेनिघाट रोराङस्थित ज्वाङखोला, गजुरीको बिहानी पम्प र गल्छीको बैरेनीमा सडकमा खसेको लेदो पन्छाउने काम जारी रहे पनि गजुरीको गलौदीमा भने मेसिन पुग्न नसक्दा पन्छाउन सकस भइरहेको छ। साथै, जहरेखेत र बाङ्गेमोडमा पनि सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
रसुवा जिल्लातर्फबाट आएको अप्रत्याशित बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गको गल्छी-स्याफ्रुबेंसी, मुग्लिन-नारायणघाट सडकखण्डलगायत त्रिशूली नदी आसपासका सडकहरूमा अर्को आदेश नभएसम्मका लागि सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। रसुवाकै उत्तरगया गाउँपालिकास्थित खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट भीषण कटान गरेपछि त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड पनि पूर्ण रूपमा ठप्प भएको छ।
पूर्वी तथा मध्य पहाडी जिल्लाहरू जोड्ने सडकहरूको अवस्था पनि उस्तै छ। काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमका कारण बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै सवारीको आवागमन रोकिएको छ भने दिउँसोको समयमा मात्र सवारी सञ्चालन गर्न दिइएको छ।
कान्ति लोकपथमा वर्षाका कारण राति ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म र नुवाकोटको टोखा-छहरे सडकमा राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
उता इलामको राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण ठप्प बनेको छ भने वैकल्पिक बाटोमार्फत यात्रा गराउन प्रहरीले सहजीकरण गरिरहेको छ। कर्णाली र लुम्बिनी प्रदेशका पहाडी सडकमा पनि पहिरोले क्षति पुर्याएको छ।
रुकुम पश्चिमको रिजेगार्ड खोलामा लेदो र ढुङ्गा-माटो खसेर भेरी करिडोरको जाजरकोट-डोल्पा सडक खण्ड तथा रोल्पाको कुङ्ग्रीमा गएको पहिरोका कारण शहीद राजमार्ग पूर्ण रूपमा ठप्प बनेका छन्। प्रहरीले मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


