बाढीपीडितलाई राैतहटका बालबालिकाको साथ: खाजा खर्च कटाएर ४७० रुपैयाँ सहयोग
सञ्जय मिश्रा, रौतहट, १३ भदौ । गत भदौ १० गते बुधबार बिहान भोटेकोशीमा आएको महाविनाशकारी बाढीले धेरैको घर मात्र बगाएन, धेरैका सपना र सहारा समेत खोसेर लग्यो। कसैलाई घाइते बनायो त कसैलाई आफन्तविहीन। विपत्तिले हिमाल, पहाड र तराई छुट्याएन; पीडा सबैको साझा बन्यो। यसै विपद्को घडीमा देश-विदेशबाट सहयोगका हातहरू अगाडि बढिरहेका छन्।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत क्युआर कोड (QR Code) प्रयोग गरी सहयोग जुटाउने क्रम चलिरहेका बेला रौतहटको एक विद्यालयका शिक्षक र विद्यार्थीले देखाएको मानवताको उदाहरणले धेरैको मन छोएको छ।
बाढी आएको भोलिपल्ट (भदौ ११, बिहीबार) देवाही गोनाही नगरपालिका-७ स्थित माध्यमिक विद्यालय प्रेमपुर गोनाही खुलेपछि बाढीपीडितलाई सहयोग गर्ने विषयमा शिक्षकहरूबीच छलफल भयो। विद्यालयका प्रधानाध्यापक मुकेशकुमार यादवले भने, “हिमाल, पहाड वा तराई- जहाँ बसे पनि हामी सबै नेपाली हौँ। नेपालीलाई दुःख पर्दा हामी चुपचाप हेरेर बस्न सक्दैनौँ। दुःखमा एकअर्काको साथमा उभिनु नै हाम्रो धर्म हो।”
प्रधानाध्यापकको उक्त भनाइपछि विद्यालयमा कार्यरत १९ जना शिक्षकहरूले आफ्नो क्षमताअनुसार सहयोग गर्ने निर्णय गरे। १४ जना शिक्षकले क्युआर कोडमार्फत राहत कोषमा रु. १,००० देखि रु. २,००० सम्म जम्मा गरे।
तर, शिक्षकहरूको सहयोगभन्दा पनि मार्मिक दृश्य त्यसपछि कक्षाकोठामा देखियो।
शिक्षकहरूले कक्षामा पुगेर भोटेकोशी बाढीको विनाश र प्रभावितहरूको अवस्थाबारे विद्यार्थीलाई जानकारी गराए। त्यो सुनेपछि कक्षा ९ का २६ जना विद्यार्थीले आफूले खाजा खान घरबाट ल्याएको पैसाबाट केही रकम छुट्याउने निर्णय गरे। कसैले १०, कसैले २० त कसैले ५० रुपैयाँसम्म सहयोग गरे। कसैले आफ्नो खाजा त्यागे त कसैले मनपर्ने खानेकुरा नखाई त्यो रकम जोगाए। ती साना हातहरूले संकलन गरेको जम्मा रकम ४७० रुपैयाँ थियो।
रकम सानो देखिए पनि त्यसमा बालबालिकाको पवित्र भावना, त्याग र पीडितको आँसु पुछ्ने ठूलो चाहना लुकेको थियो। त्यसै गरी, कक्षा ११ का विद्यार्थीहरूले पनि खाजा खर्चबाट ४०० रुपैयाँ राहत कोषका लागि जुटाए।
सम्पन्न मानिसले ठूलो रकम दिनु सामान्य हुन सक्छ, तर आफ्नो खाजा खर्च काटेर कसैको पीडामा मलम लगाउनु मानवताको सबैभन्दा सुन्दर रूप हो। प्रधानाध्यापक यादवका अनुसार विद्यार्थी र शिक्षकलाई सहयोगका लागि प्रेरित गर्न निमावि शिक्षक निरञ्जन यादवले मुख्य भूमिका निर्वाह गरेका थिए।
विद्यार्थीहरूले गरेको सहयोगको सूची सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएपछि अहिले व्यापक भाइरल बनेको छ। हजारौँ प्रयोगकर्ताले उक्त कार्यको प्रशंसा गर्दै शेयर गरिरहेका छन्। धेरैले लेखेका छन्- “यी बालबालिकाले आज हामी ठूलाहरूलाई मानवताको वास्तविक पाठ पढाएका छन्।”
सहयोग गर्न धनी हुनु वा ठूलो पदमा पुग्नु पर्दैन, केवल अरूको पीडा महसुस गर्ने हृदय भए पुग्छ भन्ने सन्देश यी विद्यार्थीले दिएका छन्। रौतहटका विद्यार्थीका ती साना हातहरूले नेपाली समाजमा अझै मानवता जिउँदै छ भन्ने भरोसा दिलाएका छन्।


