भोटेकोशी बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी पैसा चोरी गर्ने २९ जना पक्राउ
काठमाडौ । धादिङमा रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद पैसा निकालेर चोरी गरेको आरोपमा २९ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते बाढीले बगाएर ल्याएको सेफ गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीय व्यक्तिहरूले सेफ तोडफोड गरी भित्र रहेको रकम आफूखुसी निकालेको भन्ने सूचना भदौ १२ गते प्रहरीलाई प्राप्त भएको थियो।
सूचनापछि तत्काल प्रहरी टोली परिचालन गरी अनुसन्धान गर्दा २९ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको खानतलासी गर्दा विभिन्न व्यक्तिको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद भएको छ।
प्रहरीका अनुसार बरामद रकमको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको छ। बरामद नगद र नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमध्ये गल्छी गाउँपालिका–४ मासटारका पवन पौडेल (२७), वीरबहादुर राना मगर (४१), विनोद गिरी (३५), नवराज भेटुवाल (३३), सविन श्रेष्ठ (२४), पूर्णलाल श्रेष्ठ (४०), विष्णुमणि अधिकारी (३१), कृष्ण मगर (३६), शिवबहादुर राना मगर (४९), युवराज अधिकारी (४६), गल्छी–६ आदमघाटका सुशान्त श्रेष्ठ (४७), गल्छी–४ मासटारका सुचिमबहादुर राना मगर (४६), प्रेमबहादुर राना मगर (४३) र अनिल भेटुवाल (१९) लगायत रहेका छन्।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा रकमको वास्तविक स्रोतबारे अनुसन्धान भइरहेको जनाएको छ।


