काठमाडौं सीडीओ कार्यालयको अपिल: बाढीपीडितका लागि राहत दिने भए जिल्ला प्रशासनमा सम्पर्क गर्नुस्
काठमाडौं, १३ भदौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरूका लागि राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघसंस्था, कम्पनी, क्लब तथा नागरिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।
कार्यालयका अनुसार पीडितहरूका लागि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य आवश्यक घरायसी सामग्री संकलन गरी सहयोग गर्न सकिनेछ।
काठमाडौँमा संकलन हुने सम्पूर्ण राहत सामग्री ‘एकद्वार प्रणाली’ मार्फत व्यवस्थापन गरिनेछ। संकलित सामग्री सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) सँगको समन्वयमा सोझै पीडितहरूसम्म पुर्याइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
राहत सामग्री सहयोग गर्न चाहनेले काठमाडौँकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवासँग मोबाइल नम्बर ९८४१७९८५४२ मा सीधा सम्पर्क गर्न सक्नेछन्।
साथै, जिन्सी बाहेक नगद सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले भने ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को तोकिएको बैंक खाता वा उपलब्ध गराइएको क्यूआर कोडमार्फत मात्र रकम जम्मा गर्नुपर्ने कार्यालयले स्पष्ट पारेको छ।


