ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते
हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
आइतबार दिउँसो १२ः३० बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज. ०६९७ नम्बरको यात्रुवाहक ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज. ५८७३ नम्बरको यात्रुवाहक सुमो आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना र माइक्रो चालकसहित माइक्रोमा सवार ५ जना गरी ११ जना घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ।
घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने राधिका देवीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा पर्साको बिन्दवासिनी गाउँपालिका–३ का ३४ वर्षीय सुमो चालक रविन्द्र उपाध्याय, वीरगन्ज महानगरपालिका–३१ की ३१ वर्षीया राधिका देवी, सोही स्थानकी २६ वर्षीया रेखा ओझा र ४० वर्षीया उपम देवी रहेका छन्।
त्यस्तै वीरगन्ज–१५ का ३२ वर्षीय शौरवकुमार गुप्ता र उनका २ वर्ष ६ महिनाका छोरा सौर्य साह पनि घाइते भएका छन्।
माइक्रो चालक गोरखाको आरुघाट गाउँपालिका–७ का ३० वर्षीय सोमबहादुर गुरुङ, रौतहटको वृन्दावन नगरपालिका–९ की ८ वर्षीया खजिना खातुन, सर्लाहीको बरहथवा नगरपालिका–८ का ३१ वर्षीय हरिन्द्र राय, गोडैटा नगरपालिका–६ का ३१ वर्षीय राकेश महन्त र गोडैटा नगरपालिका–२ का २२ वर्षीय शत्रुधन कुशहवा पनि घाइते भएका छन्।
सबै घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


