डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी
डोटी, १५ भदौ । बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरका विभिन्न बस्तीमा राष्ट्रिय विद्युत् सेवा सञ्चालनमा आएको छ। सिमचौरअन्तर्गत छिडिखानदेखि घाराहाल्ना, खाल्टी र पान्सासम्म राष्ट्रिय प्रसारण लाइन पुगेसँगै स्थानीयका घर उज्यालो भएका हुन्।
नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलअन्तर्गत तिखातर सबस्टेसनबाट बोगटान फिडरमार्फत उक्त क्षेत्रमा विद्युत् लाइन चार्ज गरिएको हो। पहिलो चरणमा वडा नं. १ का करिब ५६ घरधुरीमा विद्युत् सेवा पुगेको वडा अध्यक्ष खेम घर्ती मगरले जानकारी दिए।
लामो समयको प्रतीक्षापछि गाउँमा विद्युत् पुगेपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। विद्युत् विस्तारसँगै दैनिक जीवन सहज हुनुका साथै सञ्चार, शिक्षा र साना उद्योग-व्यवसायजस्ता आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यसैबीच, डोटी वितरण केन्द्रले विद्युत् लाइन चार्ज भइसकेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विद्युत्का पोल तथा स्टेक (टेको) नछुन र पोलमा आगो वा झिल्का देखिएमा तत्काल खबर गर्न अनुरोध गरिएको छ।
विद्युतीय समस्या परेमा तिखातर सबस्टेसन (९८६१९७४७५५), मानबहादुर साउद (९८६८४०३७९७) वा वडा अध्यक्ष खेम घर्ती मगर (९८४८६४२०२४) लाई सम्पर्क गर्न सकिने जनाइएको छ।
गाउँमा राष्ट्रिय विद्युत् लाइन पुर्याउन सहयोग गर्ने विद्युत् प्राधिकरण, जनप्रतिनिधि र प्राविधिक टोलीलाई स्थानीयवासीले धन्यवाद ज्ञापन गरेका छन्।


