मिक्लाजुङको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–६ लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ।
चोरी–सिकारी हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ सामुदायिक वन क्षेत्रमा गस्ती गरेको थियो। सो क्रममा झाडीमा शंकास्पद अवस्थामा राखिएको एउटा बोरा फेला परेको थियो।
बोरा खोलेर हेर्दा घरेलु भरुवा बन्दुक तीन थान, फलामको नाल एक थान, १९ ग्राम २४० मिलिग्राम बारुद, फलामका ९८ वटा बेरिङ र १३ वटा फलामका टुक्रा फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार बरामद सामग्री झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। ती सामग्री इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याएर राखिएको छ।
प्रहरीले बरामद बन्दुक तथा सामग्री चोरी–सिकारीमा संलग्न समूहले लुकाएर राखेको हुन सक्ने अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए।


