ब्राउन सुगर सहित झापा र मोरङबाट दुई जना पक्राउ
विराटनगर । प्रहरीले झापा र मोरङबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
भदौ १४ गते झापाको कनकाई नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले संखुवासभा घर भई हाल दमक नगरपालिका–५ मा डेरा गरी बस्दै आएका २९ वर्षीय साजन गुरुङलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गुरुङले आइसक्रिमको बट्टाभित्र लुकाइछिपाइ राखेको अवस्थामा २३ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।
त्यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० बाट इलाका प्रहरी कार्यालय पथरीको टोलीले मिक्लाजुङ गाउँपालिका–७ का आयुष बोहोरालाई पक्राउ गरेको छ। उनको साथबाट ९०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


