राजधानीमा श्याम सिंघकको ‘कोइलाखाद’ उपन्यासमाथि चर्चा र विमर्श
चन्द्र मादेन आन्छन,काठमाडौँ । मनोहरा साहित्य समाजको आयोजनामा श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’ माथि परिचर्चा तथा विमर्श सम्पन्न भएको छ।
काठमाडौँको पेप्सीखोलास्थित विश्व ज्ञान पाठशालाको सभाहलमा शनिबार समाजको ११७औँ रचना श्रृङ्खलाअन्तर्गत आयोजित कार्यक्रममा उपन्यास ‘कोइलाखाद’ माथि चर्चा गरिएको हो।
समाजका अध्यक्ष डिल्लीराज अर्यालको स्वागत मन्तव्य तथा सिर्जना वाचनबाट सुरु भएको कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका निवर्तमान सदस्य–सचिव डा. धनप्रसाद सुवेदी प्रमुख अतिथि थिए। कार्यक्रममा डा. रमेश शुभेच्छुक, हास्यव्यङ्ग्यकार आरसी रिजाल र उपन्यासकार श्याम सिंघक विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
समीक्षक डा. रमेश शुभेच्छुकले ‘कोइलाखाद’ मा ताप्लेजुङदेखि भारतका आसाम, मेघालय र मणिपुरसम्म पुगेका नेपाली श्रमिकहरूले कोइला खानीमा भोगेको जीवन, संघर्ष र प्रेमका कथालाई प्रस्तुत गरिएको बताए। उपन्यासमा लोचन लिम्बू नामक पात्रको माध्यमबाट घर छाडेर भारत पुगेको नेपाली श्रमिकको जीवन र भोगाइलाई प्रभावकारी रूपमा चित्रण गरिएको उनको भनाइ थियो।
शुभेच्छुकले आफूले उपन्यासमाथि करिब १४ पृष्ठ लामो समीक्षा तयार पारे पनि समय अभावका कारण कार्यक्रममा पूर्ण रूपमा प्रस्तुत गर्न नसकेको बताए। उनले आगामी दिनमा सञ्चारमाध्यममार्फत विस्तृत समीक्षा सार्वजनिक गर्ने प्रतिबद्धता जनाए।
उपन्यासकार श्याम सिंघकले ‘कोइलाखाद’ तयार गर्न पाँच वर्षभन्दा बढी समय लागेको जानकारी दिए। उपन्यास लेखनका क्रममा भारतका विभिन्न कोइला खानी क्षेत्रमा पटक–पटक पुगेर स्थलगत निरीक्षण, अनुसन्धान र भ्रमण गर्नुपरेको उनले बताए। पुस्तकको चर्चा तथा विमर्श कार्यक्रम आयोजना गरेकोमा उनले मनोहरा साहित्य समाजप्रति आभार व्यक्त गरे।
फिनिक्स बुक्सले २०८१ सालमा प्रकाशन गरेको ‘कोइलाखाद’ ३५४ पृष्ठको उपन्यास हो।
कार्यक्रमका प्रमुख अतिथि डा. धनप्रसाद सुवेदीले प्रज्ञा–प्रतिष्ठान, प्रदेश र स्थानीय सरकारबीच पर्याप्त समन्वय हुन नसक्दा साहित्यिक तथा प्राज्ञिक संस्थाको संरक्षण र विकासमा चुनौती देखिएको बताए। उनले आफूलाई कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे।
कार्यक्रममा करिब तीन दर्जन सर्जकले कविता तथा विभिन्न साहित्यिक रचना प्रस्तुत गरेका थिए। हालै रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षति, देशभक्ति, क्रान्ति, वीर रस र करुणा रसका विषयमा छन्द, गद्य तथा पद्य रचना वाचन गरिएको थियो।
कार्यक्रममा बलराम विष्ट, सरिता घिमिरे, मुकुन्दराज शिवाकोटी, डम्ब घिमिरे, सूर्यप्रसाद डुम्रे, सरिता तिमल्सिना, पदम दाहाल, मदनराज घिमिरे, केशव ज्ञवाली, भुवन शिवाकोटी, सम्पत्त काफ्ले, अप्सरा पोखरेल, कविराज घिमिरे, गोविन्द नेपाल, रत्ननिधि रेग्मी सुकराचार्य, कृष्णप्रसाद पौडेल जस्ताघरे, चेवन बस्नेत ठूलाघरे, मधुसुदनप्रसाद घिमिरे, दुर्गा घिमिरे, सञ्जय सोती, अल्फी फोहेन फाप्लुपा, घनश्याम प्रसाईं, जीके एन्ड खडेरी, प्रिन्स प्रमोद, गोविन्दप्रसाद घिमिरे वेदमणि र मधुसुदन आचार्यलगायतले सिर्जना वाचन गरेका थिए।
झन्डै चार घण्टा चलेको कार्यक्रमको सञ्चालन समाजका सचिव भावकिशोर बरालले गरेका थिए। उनले कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरेका थिए।



