हराउँदै गएको अँध्यारो र निदाउन नसकेका ताराहरू
कविता
विद्युत्को उज्यालोमा सहर त जगमगायो,
तर कता हरायो रातको त्यो सुन्दर सिरानी ?
जहाँ हिजो ताराहरू कथा सुनाउँथे,
आज त्यही हरायो आकाशको प्राचीन विम्ब र बिहानी।
राजधानी लगायतका ठूला शहरहरुमा सडकमा बत्तीको भिड छ,
अनायासै निभेजस्तो देखिन्छ ताराको चमक।
मान्छे सोच्छ-उज्यालो नै सुरक्षा र समृद्धि हो,
तर ओझेलमा पर्दै छ ब्रह्माण्डको असली झलक।
मुस्ताङ र खुम्बुका ती हिमाली रातहरू,
जहाँ नाङ्गो आँखाले आकाशगङ्गा देखिन्थ्यो,
तराईका किसानले तारा हेरी मौसम बुझ्थे,
यात्रामा पथिकले उज्यालोकै बाटो रोज्थे।

(राजेन्द्र प्रसाद धमला)
आज उज्यालोको बाढी शहरर गाउँगाउँ छिर्दै छ,
हिउँचितुवा र प्रवासी चराको बाटो बिथोलियो।
प्राकृतिक लय र हाम्रो जैविक घडी भत्किँदा,
मानवीय स्वास्थ्य र शान्तिको ढोका रोकियो।
बढी उज्यालो नै होइन सभ्यताको परिभाषा,
दिशा मिलाऊँ बत्तीको, सही ठाउँमा मात्र बालौँ।
खेर जाने विद्युत्सँगै संस्कृति नगुमाऔँ,
हिमाली अँध्यारो आकाशलाई सम्पदा मानौँ।
अन्धाधुन्ध प्रकाश होइन, अँध्यारो पनि बचाऔँ,
जसले दिन्छ पर्यटन, विज्ञान र जीवनलाई नयाँ सास।
आऊ, आजैदेखि सँगै मिलेर जोगाऔँ-
हाम्रो हिमालको काख र यो निर्मल अँध्यारो आकाश।
लेखकको परिचय
राजेन्द्रप्रसाद धमला/शाखा अधिकृत, नेपाल सरकार

