लोकदोहोरी गायक प्रकाश कटुवालको कांग्रेस केन्द्रीय सदस्यमा दाबी
काठमाडौँ, २१ असोज । चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पेशागततर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
यसअघि खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका कटुवालले अन्तिम समयमा पेशागत क्षेत्रबाट पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्ने निर्णय गरेका हुन्। रामेछापबाट खुलातर्फ लोकप्रिय मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले केन्द्रीय सदस्यका लागि आफ्नो दाबी अघि सारेका हुन्।
रामेछापको उमाकुण्ड गाउँपालिका–३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका कटुवाल कला क्षेत्रसँगै कांग्रेसको सङ्गठनात्मक गतिविधिमा पनि निरन्तर सक्रिय रहँदै आएका छन्। लोकदोहोरीमार्फत देशभर पहिचान बनाएका उनले कला क्षेत्रबाट प्राप्त जनसम्पर्कलाई अब राजनीतिक तथा सामाजिक जिम्मेवारीसँग जोड्ने बताएका छन्।
कटुवालले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिका लागि भन्दा पनि जनताको सेवा र सङ्गठन निर्माणको जिम्मेवारीका रूपमा लिएको बताएका छन्। उनका अनुसार महाधिवेशन प्रतिनिधिको भूमिका मतदानमा मात्र सीमित नभई आफ्नो क्षेत्रका समस्या, जनताको अपेक्षा र कार्यकर्ताका आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउनु पनि हो।
‘केन्द्रीय महाधिवेशन प्रतिनिधि केन्द्रमा भोट हाल्न जाने मात्र होइनन्, आफ्नो ठाउँको आवाज केन्द्रसम्म पुर्याउने र पार्टीभित्र आफ्नो क्षेत्रको प्रभावकारी उपस्थिति स्थापित गर्ने जिम्मेवारी पनि उनीहरूकै हो,’ कटुवालले भने।
कांग्रेसलाई समयअनुकूल र जनतासँग जोडिएको सङ्गठनका रूपमा अघि बढाउन युवाको सहभागिता बढाउनुपर्ने उनको धारणा छ। नयाँ पुस्तालाई पार्टीको नेतृत्व तथा निर्णय प्रक्रियामा अवसर दिनुपर्ने र कार्यकर्ताका समस्या नेतृत्व तहसम्म पुर्याउन आफूले मुख्य भूमिका खेल्ने उनले बताएका छन्।
कांग्रेसका विभिन्न सङ्गठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका कटुवाल महाधिवेशनको तयारीका क्रममा पनि पार्टीका गतिविधिमा खुलेर सहभागी भएका थिए। पछिल्लो समय उनको राजनीतिक सक्रियता कांग्रेसको सङ्गठन निर्माण र विभिन्न अभियानहरूमा केन्द्रित हुँदै आएको छ।
कला क्षेत्रमा पनि कटुवालको लामो समयदेखि सक्रियता रहँदै आएको छ। राष्ट्रिय सङ्गीतकर्मी सङ्घको केन्द्रीय अध्यक्षका रूपमा उनले कलाकारका हकहित तथा सांगीतिक क्षेत्रका समस्या उठाउँदै आएका छन्। यही अनुभवलाई पार्टीको केन्द्रीय तहमा प्रतिनिधित्वसँग जोडेर उनले पेशागततर्फबाट उम्मेदवारी दिएका हुन्।
आफू निर्वाचित भए सङ्गठन सुदृढीकरण, युवाको सहभागिता विस्तार र जनतासँग पार्टीको सम्बन्ध थप मजबुत बनाउने विषयलाई प्राथमिकता दिने कटुवालले बताएका छन्। जनताका समस्या प्रत्यक्ष रूपमा सुन्ने र समाधानका लागि सम्बन्धित पार्टी तह तथा निकायसम्म पुर्याउने उनको प्रतिबद्धता छ।
‘रामेछापका मतदाताले ममाथि गरेको विश्वासलाई म पदको सम्मानभन्दा जनसेवाको जिम्मेवारीका रूपमा लिन्छु। अब त्यो विश्वासलाई सङ्गठन निर्माण र जनताको सेवामा रूपान्तरण गर्ने मेरो दायित्व हो,’ उनले भने।
महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराउने रामेछापका मतदाताप्रति आभार व्यक्त गर्दै कटुवालले कांग्रेसका सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिसँग पेशागततर्फबाट आफूलाई अमूल्य मत दिन आग्रह गरेका छन्।
कला, सामाजिक क्षेत्र र पार्टी सङ्गठनको अनुभवलाई आधार बनाउँदै केन्द्रीय सदस्यका लागि अघि बढेका कटुवालको उम्मेदवारीले कांग्रेसको केन्द्रीय नेतृत्वमा पेशागत क्षेत्रको प्रतिनिधित्वलाई चर्चामा ल्याएको छ। उनको चुनावी अभियान युवाको सहभागिता, सङ्गठन सुदृढीकरण, जनताको आवाज र निरन्तर जनसम्पर्कमा केन्द्रित छ।

