खराब मौसमले सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट
काठमाडौं, २१ असोज । खराब मौसमका कारण सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट गरिएको छ ।
सिमरा विमानस्थलबाट काठमाडौंका लागि बुधबार बिहान १०:३० बजे बुद्ध एयरको U4 554 उडान थियो। काठमाडौंको आकाशमा पुगेपछि विमान करिब ३० मिनेट आकाशमै होल्ड भयो।
काठमाडौं विमानस्थलमा पानी परिरहेको तथा खराब मौसमका कारण अवतरणमा समस्या भएपछि विमानलाई जनकपुर विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।
विमान करिब १२:३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेको हो।
विमानका कर्मचारीबाट प्राप्त जानकारीअनुसार मौसम तथा विमानस्थलको अवस्था अनुकूल भएमा करिब ३० मिनेटपछि जनकपुरबाट पुन: काठमाडौंका लागि उडान हुने बताइएकाे छ। काठमाडाैं उपत्यकामा बुधबार बिहानदेखि भिजिविलिटीकाे समस्या देखिएकाे छ । साेही कारण आन्तरिक उडान केही प्रभावित बनेका छन् ।

