दिगो प्याकेजिङ र हरित ब्यवसायका पाँच पुरस्कृत

काठमाडौं । युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ‘ग्रीनसिफ्ट नेपाल’ परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्। वातावरणमैत्री व्यवसाय, दिगो प्याकेजिङ र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनमा नवीन समाधान प्रस्तुत गर्ने उद्यमीहरूलाई बिहीबार काठमाडौंमा आयोजित एक समारोहका बीच पुरस्कृत गरिएको हो।

​काठमाडौंको हत्तिसारस्थित माया मनोर बुटिक होटलमा आयोजित पुरस्कार वितरण समारोहमा हरित व्यवसाय प्रवर्द्धन कार्यक्रम (जीबीएपी) अन्तर्गत तीन र दिगो प्याकेजिङ कार्यक्रम (एसपीपी) अन्तर्गत दुई उद्यमी विजेता घोषित भए।

​हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशबाट रि अप स्टुडियो, लुम्बिनी प्रदेशबाट इकोदोस्ती प्रालि र मधेश प्रदेशबाट कुशवाहा बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म विजेता बनेका छन्। उनीहरूले जनही ५ लाख ७४ हजार रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।

​त्यस्तै, दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत ए.वि. बायोडिग्रेडेबल प्रडक्ट प्रालि र छाहारी फार्म प्रालि विजेता बनेका छन्। दुवै संस्थाले जनही ७ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।

​निर्णायक मण्डलद्वारा विजेता छनोट

​दुवै कार्यक्रमका अन्तिम चरणमा पुगेका सहभागीहरूले आफ्ना व्यावसायिक अवधारणा, उत्पादन र नवीन समाधान निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेका थिए। व्यावसायिक सम्भावना, नवीनता तथा दिगो विकासमा पुर्‍याउन सक्ने योगदानका आधारमा विजेता छनोट गरिएको आयोजकले जनाएको छ।

​हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका सहभागीको मूल्याङ्कन काठमाडौं अर्गानिकका भुवन केसी, क्रिएसन नेपालकी सुजाता कोइराला, एभरेस्ट वुमन्स भलिबल लिगकी स्नेभी चापागाईं, लक्ष्मी सनराइज बैंककी विद्या शर्मा र लिंकन इन्टरनेसनल कलेजका सत्येन्द्र उप्रेती सम्मिलित निर्णायक मण्डलले गरेको थियो।

​त्यस्तै, दिगो प्याकेजिङ कार्यक्रमका सहभागीको मूल्याङ्कन लक्ष्मी सनराइज बैंकका राम पराजुली, वान टु वाचकी सोनी श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका रिचन श्रेष्ठ र फूलप्रसादकी सुषमा शर्मा वस्ती सम्मिलित निर्णायक मण्डलले गरेको थियो।

​चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्नुपर्नेमा जोड

​क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले विजेता उद्यमी तथा नवप्रवर्तकहरूलाई बधाई दिँदै चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्न उनीहरूले देखाएको प्रतिबद्धता नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताइन्। उनले वातावरणमैत्री व्यावसायिक अभ्यासलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस अभियानलाई निरन्तरता दिन आग्रह गरिन्।

​क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले व्यवसाय सञ्चालन गर्दा नाफा वा लागतलाई मात्र प्राथमिकता दिने प्रवृत्तिबीच सहभागी उद्यमीहरूले वातावरण र पृथ्वीका लागि लाभदायक विकल्प रोज्नु सकारात्मक भएको बताइन्। प्याकेजिङजन्य फोहोरले वातावरणमा पार्ने असर न्यूनीकरण गर्न दिगो प्याकेजिङलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ थियो।

​२१ सहभागीबीच प्रतिस्पर्धा

​पुरस्कार वितरण समारोहअघि अक्टोबर ६ र ७ मा छनोट भएका उद्यमीहरूका लागि दुईदिने आवासीय बुट क्याम्प सञ्चालन गरिएको थियो। बुट क्याम्पमा सहभागीहरूलाई व्यावसायिक अवधारणा परिष्कृत गर्न, प्रभावकारी प्रस्तुति तयार पार्न तथा लगानी र बजारका सम्भावनाहरूसँग जोडिन आवश्यक प्रशिक्षण प्रदान गरिएको थियो।

​कार्यक्रमको अन्तिम चरणमा पुगेका २१ सहभागीले निर्णायक मण्डल तथा आमन्त्रित सरोकारवालासमक्ष आफ्ना व्यावसायिक विचार प्रस्तुत गरेका थिए। तीमध्ये हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका १३ र दिगो प्याकेजिङ कार्यक्रमका आठ सहभागी थिए।

​दिगो व्यवसाय र वातावरण संरक्षणमा जोड

​ग्रीनसिफ्ट नेपाल परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापन, स्रोतको पुनःप्रयोग, वातावरणमैत्री प्याकेजिङ सामग्रीको विकास तथा हरित उद्यमशीलताको प्रवर्द्धनमा जोड दिँदै आएको छ।

​यस परियोजनाले नवीन व्यावसायिक विचारलाई व्यवहारमा उतार्न, वातावरणीय चुनौतीको समाधान खोज्न र नेपालमा दिगो तथा चक्रीय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖