शङ्कास्पद वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ थकाली चोकमा शङ्कास्पद वस्तु काट्ने क्रममा अचानक पड्किँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार असोज २६ गते बिहान मध्यबिन्दु नगरपालिका–३ ब्रह्मस्थानका ४९ वर्षीय एकासी बोटेले कावासोती नगरपालिका–१७ अमलटारीघाटस्थित नारायणी नदी किनारमा उक्त वस्तु फेला पारेका थिए।
डोरीजस्तो वस्तुले बेरिएको र भित्र फलामजस्तो देखिने उक्त वस्तु बेलनाकार रहेको थियो। यसको लम्बाइ करिब दुई फिट र गोलाइ १४ इन्च रहेको बताइएको छ।
बोटेले उक्त वस्तु घरमा ल्याएपछि बिहान करिब ११ः२० बजे भारतको मोतिहारी घर भई हाल कावासोती–८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारसँग मिलेर हेक्सा ब्लेडले काट्ने क्रममा वस्तु अचानक पड्किएको थियो।
घटनामा दुवै जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको र दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
पड्किएको वस्तुको प्रकृति तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।


