चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।

२०८३ सालको बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्वलाई धार्मिक आस्था र परम्परामा मात्र सीमित नराखी सामाजिक सद्भाव, सहकार्य र मानवीय संवेदना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन आग्रह गरेका हुन् ।

मेयर कोइरालाले चाडपर्वको वास्तविक खुसी आफू रमाउनुमा मात्र नभई अरूको मुहारमा समेत मुस्कान ल्याउन सक्नुमा रहेको उल्लेख गरेका छन् । उनले विपन्न, असहाय, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा समस्यामा परेका नागरिकको खुसीमा साथ दिन आग्रह गरेका छन् ।

चाडपर्वका नाममा हुने भड्किलो खर्च, देखासिकी र अनावश्यक प्रतिस्पर्धालाई निरुत्साहित गर्दै आत्मीयता, सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

बडादसैं सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र सकारात्मक शक्तिप्रतिको विश्वासको प्रतीक भएको उल्लेख गर्दै कोइरालाले यस पर्वले अन्याय, अत्याचार र सामाजिक विकृतिविरुद्ध उभिने प्रेरणा दिने बताएका छन् । देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको पौराणिक मान्यताले सत्य, साहस र सदाचारको मार्गमा अघि बढ्न सन्देश दिने उनको भनाइ छ ।

त्यस्तै, शुभदीपावलीले अन्धकारमाथि उज्यालोको विजय र जीवनमा आशाको सञ्चार गर्ने, नेपाल सम्वत्ले मौलिक पहिचान तथा सांस्कृतिक गौरव बढाउने र छठ पर्वले प्रकृति, सूर्य तथा जलप्रतिको सम्मानसँगै श्रद्धा, अनुशासन र समर्पणको भावना अभिवृद्धि गर्ने उनले बताएका छन् ।

नेपाली समाज विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध रहेको उल्लेख गर्दै कोइरालाले यस्ता पर्वले विविधताबीचको एकता, सहअस्तित्व र आपसी विश्वासलाई बलियो बनाउने बताएका छन् । चाडपर्वले परिवारका सदस्यलाई एकै ठाउँमा जोड्ने, टाढिएका मनलाई नजिक ल्याउने र पुस्तान्तरणमार्फत संस्कार तथा संस्कृति संरक्षणमा योगदान पुर्‍याउने उनको भनाइ छ ।

विराटनगर महानगरपालिकालाई स्वच्छ, सुन्दर, व्यवस्थित, समुन्नत र समावेशी सहर बनाउने अभियानमा एकता, सहकार्य र सामाजिक सद्भाव अपरिहार्य रहेको कोइरालाले उल्लेख गरेका छन् । महानगरको विकास र समृद्धिका लागि नागरिकबीच आपसी विश्वास, सहयोग र साझा जिम्मेवारीको भावना आवश्यक रहेको उनको सन्देश छ ।

उनले चाडपर्वले प्रत्येक घरमा सुख, शान्ति र समृद्धि ल्याउनुका साथै हरेक मनमा आशा र विश्वास जगाओस् भन्ने कामना गरेका छन् । साथै, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउँदै देशलाई विकास र समृद्धिको साझा बाटोमा अघि बढ्न सबै पर्वले प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

कोइरालाले विराटनगर महानगरवासीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्व–२०८३ को सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖