तेह्रथुममा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते
तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–२, सिस्ने हातिसारमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार असोज ३० गते साँझ करिब ६ बजे अन्दाजी २६ वर्षीय सोमबहादुर विकले आफ्नी २४ वर्षीया श्रीमती कमला विकमाथि खुकुरी प्रहार गरेका हुन्।
घटनाबारे राति करिब ११ बजे स्थानीयवासीबाट टेलिफोनमार्फत जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी पौठाकबाट प्रहरी वरिष्ठ हवल्दार हिरा विकको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
खुकुरी प्रहारबाट कमलाको घाँटीको पछाडिको भागमा काटिएको तथा दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल, म्याङलुङ लगिएको थियो। अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा सोमबहादुरलाई प्रहरीले घटनास्थलबाट खुकुरीसहित नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुममा राखिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान गर्नुका साथै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।


