खोटाङमा ढुङ्गा प्रहार गरी ५२ वर्षीय पुरुषको हत्या, २५ वर्षीय युवक पक्राउ
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ वाछिममा ढुङ्गा प्रहार गरी एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असोज ३० गते राति स्थानीय २५ वर्षीय सन्तोष राईले सोही स्थानका ५२ वर्षीय हर्कबहादुर राई (हर्कु) को टाउकोलगायत शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरेका थिए।
ढुङ्गा प्रहारबाट हर्कबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सन्तोषलाई असोज ३० गते नै पक्राउ गरेको हो।
पक्राउ परेका सन्तोषलाई ज्यानसम्बन्धी कसुरमा हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
घटनाको कारणबारे भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले असोज ३१ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।


