राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु
काठमाडौँ, २ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुर महादेवटार सुरुङको (३.३९९ मिटर) बुधबार ब्रैक थ्रु गरेका छन् ।
ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
‘विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय रहेको छ’, उनले भने ।
राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ, पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र क्रियाशील रहेको र काठमाडौँ उपत्यकालाई तराई/मधेशसँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने उहाँले विश्वास व्यक्त गरे।
‘यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुने नै छ, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने यो आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको पाएको छु’, पौडेलले भने ।
यस आयोजनाको महत्व केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित छैन भन्दै यसले राजधानी काठमाडौँ र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनको थियो ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकास मन्त्री सुनील लम्साल, नेपालस्थित चीनका राजदूत झाङ माओमिङ तथा कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए।

