राजदूत पाण्डेले भारतीय राष्ट्रपति मुर्मू समक्ष बुझाए ओहोदाको प्रमाणपत्र
काठमाडौं, ३ मंसिर । भारतका लागि नेपालका नवनियुक्त राजदूत निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । उनले बिहीबार दिउँसो राष्ट्रपति निवासमा मुर्मूसमक्ष प्रमाणपत्र बुझाएका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते मित्रराष्ट्र भारतको भ्रमण हुने भएपछि पाण्डेले छिट्टै भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन समय पाएका हुन।
भारत सरकारले प्रधानमन्त्री शाहको भ्रमणअघि नेपालप्रति असाधारण कूटनीतिक सदासयता देखाएकोरूपमा यसलाई लिइएको छ ।
सोमवार नियुक्त भएका राजदूत पाण्डेलाई भारत सरकारले ओहोदाको प्रमाणपत्र बुझाउन दिल्ली पुगेको ४८ घण्टा नबित्दै आमन्त्रण गरेको छ । यति छोटो समयमा ओहोदाको प्रमाणपत्र बुझाउने पाण्डे भारतका लागि पहिलो नेपाली राजदूत हुन् ।
कार्यभार सम्हाल्न राजदूत पाण्डे मंगलवार मात्रै नयाँ दिल्ली पुगेका थिए । उनले बुधवार भारतीय विदेश मन्त्रालयको शिष्टाचार महाशाखामा पुगेर आफू कार्यभार सम्हाल्न आएको औपचारिक जानकारी दिएका थिए । नेपाल सरकारले पत्र पठाएको तीन साताभित्रै राजदूत पाण्डेको एग्रिमो भारत सरकारले पठाएको थियो ।

