बिराट मेडिकलमा शुक्रबार लाइभ ENT सर्जरी कार्यशाला हुने, शनिबारदेखि इटहरीमा राष्ट्रिय सम्मेलन
बिराटनगर। सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपाल (SOL Nepal) को दशौँ राष्ट्रिय सम्मेलनको अवसरमा बिराट मेडिकल कलेज टिचीङ हस्पिटलमा मंसिर ४ गते शुक्रबार लाइभ ENT सर्जरी कार्यशाला हुने भएको छ।
सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपाल (SOL Nepal) र बिराट मेडिकल कलेज टिचीङ हस्पिटलको सहकार्यमा लाइभ सर्जरी कार्यशाला हुने भएको हो ।
आयोजक समितिका सचिव डा. राजिव साहका अनुसार कार्यशाला बिहान ९ बजे हस्पिटलको छैटौँ तलाको सेन्ट्रल अडिटोरियममा सुरु हुनेछ। यसमा Endohold (Justtach) को प्रयोगसहित एन्डोस्कोपिक कान शल्यक्रिया, एन्डोस्कोपिक कोब्लेसन एडेनोटन्सिलेक्टोमी र ENT मा बोटक्सको प्रयोगको प्रत्यक्ष प्रदर्शन गरिनेछ।
मुख्य सम्मेलन मंसिर ५ र ६ गते सुनसरीको इटहरीस्थित रामदा होटलमा हुनेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंसिर ५ गते शनिबार दिउँसो २:३० बजे सम्मेलनको उद्घाटन गर्नेछन्।
“Advancing ENT Care: Innovation, Accessibility and Excellence” भन्ने नाराका साथ हुने सम्मेलनमा २५० भन्दा बढी स्वदेशी र ८ जना विदेशी विशेषज्ञको सहभागिता रहने आयोजकले जनाएको छ। १२० वटा कार्यपत्र प्रस्तुत हुनेछन्, जसमा युवा चिकित्सक र रेजिडेन्टका लागि सीप अभिवृद्धिका कार्यशाला तथा पोस्टर प्रस्तुतीकरणका अवसर पनि रहनेछन्।

