दिनदिनै सुक्न थाल्यो धनकुटाको लेगुवा बजार, यस्तो छ कारण – भिडियो रिपोर्ट सहित
धनकुटा खबर । एक दशकअघिसम्म किनमेलका लागि दैनिकजसो मान्छेको भीड लाग्ने लेगुवा बजारमा अहिले चहलपहल देखिन साप्ताहिक हाट वा कुनै मेला महोत्सव नै पर्खनु पर्छ ।
२०५२ सालमा नेपाली सेनाले हिलेदेखि लेगुवासम्म २६ किलोमिटर बाटोको ट्रयाक खोलिदिएपछि अरुण नदीको बगरमा विस्तारै वस्ती वस्न थालेको थियो । त्यो बस्तिको नाम नै लेगुवा बजार हो ।
केही वर्षयता ग्रामीण क्षेत्रमा बाटो विस्तार भएँसँगै अन्य स्थानमा बजार वस्न थालेपछि लेगुवा बजारको व्यापार विस्तारै ओरालो लागेको हो । अरुण नदीमा पक्की पुल निर्माण र ग्रामीण भेगमा वाटो विस्तार भएपछि व्यापार सुस्ताउँदै गएको स्थानीय वासिन्दा दिपकबहादुर पुरी बताउनु हुन्छ ।
बाटो पुगेसगै अन्यत्रवाट यहाँ बसाई सरी आउनेक्रम पनि वढ्यो र लेगुवा बजार व्यापारिक केन्द्रको रुपमा विकास भयो । कुनै बेला छिमेकी जिल्ला भोजपुर, संखुवासभा र खोटाङका विभिन्न गाविसका स्थानीयका लागि किनमेल गर्ने मुख्य व्यापारिक केन्द्र लेगुवा बजार नै थियो । खाद्यान्न, लत्ताकपडा, नुनचिनी जस्ता दैनिक उपभोग्य वस्तु खरिदका लागि स्थानीयहरु लेगुवा बजार पुग्ने गर्र्थे ।
बजारका ३ सय घरमध्ये करिब २ सय घरपरिवारको मुख्य पेशा नै व्यापार वनेको थियो । तर अहिले लेगुवा बजार नै सुनसान भएको लेगुवाका होटल व्यवसायी टिका श्रेष्ठ बताउनु हुन्छ ।
धनकुटाको लेगुवा वजार सुक्न थालेपछि भोजपुरको जरायोटार, याकु, होम्तांग, घोरेटार, प्याउली, यांगशीला, दिंगला जस्ता ग्रामीण क्षेत्रको बजारहरु फस्टाउन थालेको छ । लेगुवा बजारको चहलपहललाई पहिलेको अवस्थामा फर्काउन महालक्ष्मी नगरपालिकाले केही योजनाहरु सञ्चालन गर्न लागेको मेयर पर्शुराम नेपालको भनाई छ ।
अरुण नदीमा व्यवसायिक र्याफ्टीङ, नजिकका ऐतिहासिक धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको पूर्वाधार निर्माण र प्रचार प्रसार गर्न सके लेगुवा बजारको चहलपहल फर्काउन सकिने सम्भावना छ ।


