कामदार अभावले बिस्थापितको संघारमा धनकुटाका जुत्ताचप्पल उद्योग !
धनकुटा खबर । कामदार पाउन छाडेपछि करिव ४ दशक भन्दा अघिदेखि धनकुटामा सन्चालित साना घरेलु जुत्ताचप्पल उद्योगहरु बिस्थापित हुने अबस्थामा पुगेका छन् ।
परम्परागत रुपमा सन्चालित धनकुटाका ती उद्योगहरुबाट उत्पादित जुत्ताचप्पलको माग अत्याधि बढेपछि व्यबसायीक रुपमा सन्चालन हुन २०६५ सालबाट मात्र घरेलु कार्यालयमा दर्ता भएर सन्चालनमा आएको तथ्यांक छ ।
६ महिना देखि १ बर्षे ग्यारेन्टीमा प्रति जोर ५ सय देखि २ हजार सम्ममा बेचिने धनकुटाको छालाको जुत्ताचप्पल निकै लोकप्रिय रहेको छ । यहाँको उत्कृष्ट उत्पादनका कारण नै २०५३ सालको छालाजन्य बस्तु प्रदर्शनिमा धनकुटाका एक जुत्ताचप्पल उद्योगीलाई उत्कृष्ट उद्यमीको रुपमा समेत राष्ट्रिय पुरस्कारले सम्मानित गरिएको थियो ।
तर पछिल्लो समयमा कामदारको अभावमा आफ्नो उत्पादनले बजार धान्न गाह्रो भएपछि अधिकांश उद्योगीहरु बाहिरबाट जुत्ताचप्पल ल्याएर व्यबसाय धान्नेतिर लागेको र कतिपयले जसोतसो व्यबसाय धानेर बसिरहेको उनीहरु बताउँछन् ।
२०५६ साल देखि धनकुटामा हरि दुर्गा सुःसेन्टर चलाउँदै आएका सन्चालक हरी बोगटीले कामदार पाउन छाडेपछि आफूले हाल भारत र खासाबाट जुत्ता, चामल ल्याएर भाडामा कोठा लिएर व्यबसाय चलाइरहेको बताए ।
‘कामदार पाउन छाडेपछि दुईचार जोर बनाएर बेचिहेछु ।’ –उनले भने । ‘व्यबसाय र बजारको माग धान्न रेडिमेड समान बेच्नु बाहेक हामी संग बिकल्प छैन ।’
बिगतमा ९ जना सम्म कामदार राखेर काम गर्दा दैनिक सय जोर सम्म चप्पल बनाएर होलसेलमा बेच्दा मासिक ८० हजार सम्म कमाई हुने भएपनि हाल मुस्किलले मासिक १५ हजार भन्दा बढी कमाई नहुने उनले बताए ।
कामदार पाउँदा आफूले बनाएको सामान बेचेर कमाएको पैसाले १८ लाखमा घर समेत बनाएको बताउने उनले हाल रेडिमेड जुत्ताचप्पल बेचेको कमाईले कहिलेकाहीं कोठाभाडा तिर्न समेत गाह्रो हुने गरेको बताए ।
।
त्यस्तै २०६० साल देखि मोहन सु सेन्टर चलाउँदै आएका सन्चालक मोहन बोगटीले पनि कामदार नपाएपछि बजारको माग धान्न ७५ प्रतिशत भन्दा बढी चप्पल बाहिरबाट ल्याएर व्यबसाय धानिरहेको बताए ।
बिगतमा ५ जना सम्म कामदार राखेर काम गर्ने भए पनि अहिले सबैजना बैदेशीक रोजगारमा गएर कामदार नपाएकोले एक्लै काम गरेर व्यबसाय सन्चालन गरिरहेको बताए । जुत्ताचप्पलमा प्रयोग हुने सोल र छाला भारतबाट ल्याउनुपर्ने भएकोले सहज रुपमा सामान नपाउँदा आफैं काम गर्न समेत गाह्रो भएको उनको भनाई छ ।
जिल्ला घरेलु कार्यालयले तालिम दिएर जनशक्ति उत्पादन गरिदिए कामदारको अभाव नहुने उनको भनाईछ ।
२०४० साल देखि जय बिजय सुः सेन्टर सन्चालन गर्दै आएका धनकुटाका अगुवा जुत्ता व्यबसायी जय कुमार बोगटीले पनि एउटा चप्पल बनाएको ७० रुपैंया र जुत्ता बनाएको ४ सय रुपैंया सम्म दिने गरेपनि कामदार पाउन छाडेपछि मासिक मुस्किलले ३ जोर जुत्ता बनाएर बेच्ने गरेको बताए ।
राष्ट्रिय पुरस्कार बिजेता समेत रहेका उनी भन्छन्–‘ कामदार नपाएपछि भाङ्टी (पुरानो जुत्ताचप्पल) बनाएर बसेको छु ।’
२०५१ साल सम्म १० जना सम्म कामदार राखेर काम गर्दा मासिक ३० हजार सम्म कमाई हुंदा १० लाख कमाएर घर बनाए पनि अहिले त्यसको एक प्रतिशत पनि कमाई नहुंदा परिवार पाल्न पनि गाह्रो भएको उनले बताए ।
घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय धनकुटाका निमित्त प्रमुख दिपक पौडेलले बार्षिक एक सय ३० जनालाई प्रबिधिक सहयोग दिने गरेपनि उद्योगमा काम गर्ने भन्दा बिदेशी रेमिट्यान्स प्रति यूवाहरुको आकर्षण बढेकोले धनकुटाका छालाजुत्ता उद्योग धरासायी भएको बताए ।
काम गर्ने सबै बिदेश र अन्यत्र गएपछि स्थानिय उत्पादन नहुंदा बाहिरबाट आउने जुत्ताचप्पल संग प्रतिष्प्रधा गर्न नसक्दा उद्योगहरु दिनप्रतिदिन बिस्थापनको अबस्थामा पुगेको उनको भनाईछ । यस पेशालाई दोस्रो पुस्ताले नअपनाए सम्म र यसलाई टिकाउन राज्यले बिशेष नीति नल्याए सम्म यस्ता उद्योगहरु आगामी दिनमा बन्द भएर जाने उनले बताए ।
पराम्परागत रुपमा चल्दै आएका धनकुटाका छालाजुत्ताका साना उद्योगहरु दर्जनौ भएपनि पछिल्लो समयमा घरेलु कार्यालयमा दर्ता भएर सन्चालन हुनेको संख्या १० वटा रहेको कार्यालयले जानकारी दिएको छ ।



