हिमपात

सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा चार वर्षपछि हिमपात

सुर्खेत । दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सूदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला क्षेत्रमा चार इञ्च बाक्लो हिउँ परेको जनाएको छ । कर्णालीका हिमाली भेगमा यसअघि नै हिमपात भए पनि दैलेखको गुराँसे र सुर्खेतको रातानाङ्ला क्षेत्रमा बिहीबारदेखि हिउँ पर्न शुरु गरेको थियो ।

क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले पछिल्ला चार वर्षयता यसपटक बाक्लो हिउँ परेको बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले सोही क्षेत्रमा पश्चिम नेपालको मौसम विवरण सङ्कलन गर्ने अत्याधुनिक प्रविधिको राडार सञ्चालनमा ल्याएको छ । हावापानी कार्यालयले राडारकै सहायताले हिमपात र वर्षाको विवरण सङ्कलन गर्न थालेको छ ।

गुराँसे मात्रै नभई तल्लो तटीय क्षेत्र रानीमत्ता, निगालपानी, धरमपोखरा, सेरी गाइबान्ना आसपासमा पनि बाक्लो हिमपात भएको छ । वीरेन्द्रनगरदेखि रानीमत्ता, रातानाङ्ला र गुराँसेमा हिउँ हेर्न जानेको लर्को लाग्ने गरेको छ । हिउँ हेर्नेको भीडले सुर्खेत–दैलेख सडकखण्डको रातानाङ्लामा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्नै मुस्किल हुने गरेको छ ।

हिमपातका कारण अवरुद्ध सात जिल्लाका यातायात सञ्चालन

अमरगढी । शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।

राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडर र डडेल्धुराको अमरगढी नगरपालिकाको डोजर मगाई शनिबार बिहानदेखि करीब ६ घण्टा लगाएर बाटो खुलाइएपछि बेलुकीबाट यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताउनुभयो । दुई वटा डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको सडकमा रहेको हिउँ हटाई यातायात सञ्चालन गरिएको बताइएको छ ।

हिमपातले जनजीवन कष्टकर

बाजुरा । लगातारको हिमपातका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । चार दिनदेखि लगातार हिमपात भइरहेको छ । घाम नलाग्दा चिसोले यहाँको उच्च पहाडी भेगका बासिन्दको जनजीवन कष्टकर बनेको छ । सदमुकाम मार्तडीलगायत स्थानमा बाक्लो हिउँ परेको छ । चिसोले दैनिक कामकाज असहज भएको छ । हिमपातपछि कोल्टीमा हवाईसेवा बन्द भएको नागरिक उड्डयन शाखा कार्यालय कोल्टीले जनाएको छ ।

यात्रु कोल्टीमा अलपत्र परेका छन् । हिमपातका कारण मार्तडी–कोल्टी सडकखण्ड अवरुद्ध छ । पोरखे लेकमा करीब पाँच फिट हिउँ जमेको छ । चिसोले बिरामीको सङ्ख्या बढ्दै गएको जिल्ला अस्पतालका डा रोहित गिरीले बताउनुभयो । चिसोले महिला, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित छन् ।

हिउँसँग रमाउँदै


बाजुराको सदरमुकाम मार्तडीबाट दुई घण्टाको पैदल दुरी हिँडेर बडिमालिका नगरपालिका– ८ स्थित खलाडिल पुगेका स्थानीय हिउँका विभिन्न मनोरञ्जनका सामग्री बनाएर हिउँसँग रमाउँदै । तस्वीर : प्रेम विक, बडिमालिका (बाजुरा), रासस

हिमपातले पोलियो खोप अभियान प्रभावित

हुम्ला । हुम्लामा माघ लागेसँगै निरन्तर परेको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ । यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध भएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो ।

जिल्लाका अधिकांश खोप केन्द्रमा पोलियो खोप खुवाउने कार्यक्रम दुईदिन सञ्चालन गर्ने भनिए पनि सोमबारदेखि लगातार परेको हिमपातले खोप सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । हिउँ जमेका कारण जिल्ला अस्पताल हुम्लाले २७ खोप केन्द्रमा स्वास्थ्यकर्मी र खोप सामग्री लैजान नसकिएको अनमी बोहराले बताउनुभयो ।

हिमपातले जिल्लाका प्रत्येक वडामा थालिने खोप अभियानका क्रममा खोप केन्द्र र स्वास्थ्य संस्थामार्फत पाँच हजारभन्दा बढी बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउने काम प्रभावित भएको छ ।

दादुराजस्तै लाग्ने रुबेला हुँदा हातखुट्टाका औँला, नाडी र घुँडा जोर्नी दुख्ने ज्वरो आउनुका साथै रक्तश्राव हुने, गर्भवती महिलामा पनि यो रोग देखिने गरेको अनमी बोहराको भनाइ छ । दादुरा र रुबेलाको उपचार खोप भएकाले मौसममा सुधार आएमा खोप सञ्चालन गरिने बोहराले बताउनुभयो ।

पाँच वर्षमुनिका बालबालिकालाई खोपका सबै सूचक खोप पोलियो थोपा, बिसिजी, डिपिटी, दादुरा रुवेला, जापानी इन्सेफ्लाइटीस आइपिभीलगायतका खोप पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।