मेलम्चीको पानी ६ महिनाभित्र काठमाडौं झारे ठेकेदारलाई १० प्रतिशत बोनस
काठमाडौं, भदौ ३१ । सरकारले मेलम्चीको पानी साढे ६ महिनामा काठमाडौंमा झारे ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने गरी सम्झौता गर्दै छ ।
चाँडो पानी ल्याउन मेलम्ची खानेपानी विकास समितिले आयोजनाको हेडवक्र्स निर्माण र सुरुङ फिनिसिङको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोसँग बोनस सम्झौता गर्न लागिएको खबर आजको नयाँ पत्रिका दैनिकमा तिर्थराज बस्नेतले लेखेका छन्।
सरकारी घोषणालाई पूरा गर्न समितिले ठेकेदार कम्पनीलाई बोनस दिने गरी सम्झौता गर्न लागेको आयोजना प्रमुख सूर्यराज कँडेलले बताए ।
चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा सरकारको नीति तथा कार्यक्रममै छ ।
‘चाँडोभन्दा चाँडो पानी काठमाडौं ल्याउन हामीले बोनससहितको सम्झौता गर्न लागेका हौँ,’ कँडेलले भने, ‘पानी ल्याउन सिनो हाइड्रोलाई १० महिना समय दिइएको छ । तर, साढे ६ महिनामा पानी ल्याए १०५ बोनस पाउँछ ।’
सिनो हाइड्रोले सुरुङ फिनिसिङको ठेक्का ७५ करोडमा लिएको हो । साढे ६ महिनामा पानी ल्याए यो ठेक्काबाट उसले १० प्रतिशत अर्थात् साढे सात करोड बोनस प्राप्त गर्नेछ । त्यस्तै, ९० करोडमा ठेक्का लिएको हेडवक्र्सको कामबाट नौ करोड बोनसबापत पाउने मेलम्ची खानेपानीले जनाएको छ ।
सिनो हाइड्रोसँग आयोजनाको ठेक्का सम्झौता एक साताभित्रै हुने समितिले जनाएको छ । ‘हामीले पानी ल्याउने र पूरै काम सक्ने गरी कामलाई दुई फेजमा बाँडेका छौँ,’ कँडेलले भने, ‘पानी ल्याउने कुरामा हेडवक्र्सले कुनै असर गर्दैन । पानी ल्याउने र हेडवक्र्सको काम पनि गरिरहने हो । सुरुङका केही काम पनि पछि गर्न मिल्छ ।’
समितिका अनुसार सुरुङ फिनिसिङको काम चार सय मिटर र ढलान गर्न आठ सय मिटर बाँकी रहेको समितिले जनाएको छ ।
हेडवक्र्सको काममा पानी डाइभर्ट गर्न मिल्ने स्ट्रक्चर बनेको र बाँकी पानी ल्याएपछि पनि गर्न मिल्नेछ । पाँच गेटमध्ये एउटा हालिसकिएको र एउटाको आधा काम भइसकेको छ ।
अब तीन गेट हाल्न बाँकी रहेको छ । विनाअवरोध काम भए साढे ६ महिनामा पानी ल्याउन असम्भव नभएको कँडेलले बताए । भुक्तानी माग गर्दै आन्दोलन गरिरहेका मजदुर र आपूर्तिकर्तासँग सम्झौता भइसकेकाले काममा अवरोध हुने सम्भावना पनि कम रहेको समितिले जनाएको छ।


