राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ, २५ कात्तिक । आजभन्दा ८८ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन ।

सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो । यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’को रुपमा चिनिन्छ ।

किरात धर्मको समाज सुधारकको रुपमा परिचित उनै महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्ती आज किरात धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् ।

नेपाल सरकारबाट २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ साल कात्तिक २५ गते आइतबार प्रदेश न. १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।

किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाउनुभएको थियो ।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन हुनुभएका उहाँलाई किरात धर्मावलम्बीहरुले देवदूतको रुपमा उच्च सम्मान गर्दैआएको किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्रसिंह थेगिम बताउनुहुन्छ ।

अध्यक्ष थेगिमका अनुसार किरातीहरुलाई अहिंसा र विश्वबान्धुत्वको महान् ज्ञान प्रदान गर्नुहुने महागुरु फाल्गुनन्दले विसं १९८८ साल वैशाख २५ गते दश लिम्बु र १७ थुमका वरिष्ठ व्यक्तिहरुलाई पाँचथरको लेबे्रकुटी भन्ने स्थानमा भेला गराएर दश बुँदे ‘सत्य हाङ्मा मुचुल्का’मा सहीछाप गराउनु भएको थियो ।

त्यही ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’लाई फाल्गुनन्दको मुख्य सन्देशको रुपमा लिइने गरिएको छ । नौ हात लामो काँचो कागजमा लेखिएको मुचुल्काको एउटा प्रतिलिपी आफूसँग सुरक्षित भएको अध्यक्ष थेगिमले जानकारी दिनुभएको छ ।

सोही धर्म मुचुल्कामा मदिरा, बली प्रथालगायतलाई निषेध गर्ने र किरातीहरुलाई अति तडकभडकयुक्त बिहे संस्कारबाट जोगाउने लगायतका सामाजिक सुधारका नयाँ नीतिहरु समावेश गरिएका छन् ।

उहाँले नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैङ्गिक समानताको वकालत गर्नुभएको थियो ।

समाज सुधारक र मुन्धुमका संरक्षणकर्ता फाल्गुनन्दको जन्म अति गरीव परिवारमा आमा हंशमति र बुवा जगनबाज लिम्बुको कोखबाट साहिला सन्तानको रुपमा भएको थियो । उहाँ आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी हुनुभएको थियो ।

न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उहाँ बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती हुनुभएको थियो । बेलायती सेनामा केही वर्ष काम गर्नुभएका फाल्गुनन्दले मारकाट र लडाइँ झगडा नराम्रा कुरा हुन् भन्ने सोचेर जागीरबाट राजीनामा दिई धार्मिक सुधार अभियान चलाउनुभयो । यस क्रममा उहाँ भारत र भुटानसम्म पुग्नुभएको बताइन्छ ।

नेपाल सरकारले विसं २०५० सालमा महागुरु फाल्गुनन्दको नाममा सम्मानस्वरुप रु १५ को हुलाक टिकट प्रकाशन गरेको थियो ।

विश्वबान्धुत्व र अहिंसाका महान् तपस्वी किरात धर्मगुरु फाल्गुनन्दको पवित्र सन्देशलाई विश्वभर फैलाउने कार्यमा उहाँका नातिसमेत रहनुभएका किरात धर्मगुरु आत्मानन्द लिङ्देनले अगुवाइ गरिरहनु भएको छ ।

इलामको माङ्सेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गर्नुभएको माङ्हिम अहिले किरात धार्मिक स्थलको रुपमा प्रसिद्ध छ भने पाँचथरको लेबे्रकुटी, सिलौटीलगायतका स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖