यस्तो छ धनकुटा नगरले गरेका महत्वपुर्ण काम – हेर्नुस् भिडियो
पूर्वी नेपालको महाभारत पर्वत श्रृंखलामा अवस्थित सुन्दर पहाडी नगर हो, धनकुटा नगरपालिका । प्रदेश नं. १ को धनकुटा जिल्लामा पर्ने यो नगरपालिका पुर्बि पहाडकै पुरानो नगरपालिका हो । विकास क्रमलाई हेर्दा यहाँ करिब ४ सय बर्ष पहिलेदेखि बस्ती बसेको मानिन्छ । तत्कालीन् सरकारले वि.सं. २०३५ साल पौस १ गते
चुलिवन, धनकुटा र निगाले गरी तीन वटा गाउँ पञ्चायतहरु मिलाएर नगरपञ्चायत घोषणा गरेको थियो । नगरपालिका विस्तारको क्रममा २०७१ साल मंसिर १६ गते नेपाल सरकारको निर्णयानुसार पूर्वको भीरगाउँ र पश्चिमतिरको बेलहरा गाविसलाइ समेत नगरपालिका क्षेत्रभित्र समावेश गरिएको थियो । नेपाल सरकारको पछिल्लो निर्णयानुसार २०७३ साल फाल्गुण २७ गते प्रकाशित राजपत्र बमोजिम यो नगरपालिका १० वटा वडामा विभाजित छ ।
सुविधाको हिसावले धनकुटालाई सुगम मान्नुपर्छ । विराटनगर, धरान, इटहरी जस्ता ठूला शहरबाट कोशी राजमार्ग हुँदै धनकुटा पुग्न सजिलो छ भने नगरक्षेत्रको हिले बजार, हुँदै संखुवासभा र तेह्रथुम जिल्ला पुग्न सकिन्छ । यो नगरपालिकाको पूर्वमा छथर जोरपाटी, पश्चिममा सहिदभूमि गाउँपालिका र उत्तरमा पाख्रिवास नगरपालिका तथा दक्षिणमा साँगुरीगढी गाउँपालिका रहेका छन् ।

९ हजार ४ सय ६० घरधुरी रहेको यस नगरपालिकाको कुल जनसंख्या ३६ हजार ६ सय १९ रहेको छ । आठपहरिया जातिको एकमात्र बसोवास रहेको यो देशकै एक मात्र स्थल हो । यस नगरपालिकामा सबै भन्दा बढी जनसंख्या क्षेत्रीहरु पछि आठपहरियाहरुको रहेको छ । उनीहरुको जनसंख्या नगरपालिकाको कूल जनसंख्या १७ प्रतिशतको हाराहारीमा रहेको छ । त्यस्तै नेवार, तामाङ, वाहुन, राईको जनसंख्या यस नगरमा उल्लेख रुपमा रहेको छ । यहाँ हिन्दु, क्रिश्चियन, बौद्ध, किराँत लगायत धर्म मान्ने समुदायको बसोवास छ । यहाँका वासिन्दा धर्मका आधारमा परम्परागत रहनसहन र चाडपर्वहरु मनाउने गर्छन् । पेशाको आधारमा यस नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या कृषिमा करिव ४४ प्रतिशत निर्भर छन् । उद्योग तथा व्यापार व्यवासयमा १४, नोकरीमा १२ तथा बैदेशिक रोजगारमा ७.९५ प्रतिशत निर्भर रहेका छन् ।
धनकुटा नगरपालिका अहिले सम्म प्लाष्टिक झोला, खुला दिशामुक्त तथा पूर्ण खोप सुनिश्तिता र साक्षर नगर घोषणा भइसकेको छ । धनकुटा नगरपालिका अन्य सेवा प्रवाहको दृष्टिकोणमा पनि आफुलाइ अब्बल साबित गरिसकेको छ । यो नगरपालिका पटक पटक सेवा प्रवाहमा मापन गर्न गरिने न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा प्रथम तथा द्धितिय भइसकेको छ भने आ.ब. २०७३÷७४ मा सफा सहर छनौट प्रतिस्पर्धामा धनकुटा प्रथम स्थान हासिल गरेको छ ।
स्थानीय तह गठन भएको करिव चार महिनापछि अर्थात असार १४ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भयो । २० वर्ष पछि भएको निर्वाचनबाट देशका अन्य भागमा जस्तै १५ वर्षपछि यहाँ पनि जनप्रतिनिधि आए । करिब डेढ दशक कर्मचारीले धानेको स्थानीय तहमा अहिले निर्वाचित जनप्रतिनिधि आएपछि जनतामा बेग्लै उत्साह थपिएको छ । जनप्रतिनिधिलाइ जनताका बढ्दो आशा–अपेक्षा र स्थानीय तहमा उपलब्ध सीमित स्रोतसाधनको तादात्म्यता मिलाउँदै नयाँ व्यवस्था र नयाँ संरचनाबीच जनप्रतिनिधिलाई काम गर्न चुनैती र अबसर दुबै बराबर थिए । २०७४ साल असार १९ गते भएको सपथ ग्रहणसँगै निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे यात्रा सुरु भएको छ । र “सुखी नेपाली ः समृद्ध नेपाल” नारालाई मुर्तरुप दिन तल्लीन् भएर लागेका छन् ।
जनप्रतिनिधिको पहिलो अग्नी परिक्षा स्बरुप आर्थिक बर्ष २०७४÷७५ को लागि कुल ४६ करोड १० लाख ४७ हजार बरावरको बजेट योजना तथा कार्यक्रमहरु धनकुटा नगर सभाको मिति २०७४ साल भदौं ९ गते सम्पन्न भएको ऐतिहासिक प्रथम अधिवेशनबाट स्वीकृत गरियो । जसमा १ सय ४३ वटा सामाजिक विकास, १२९ पूर्वाधार, ४६ कृषि, पशु, उद्योग र पर्यटन, ९६ वटा संस्थागत विकास योजना सहित कुल ४४३ वटा योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरिएको थियो । स्थानीय तह गठन भएको पहिलो बर्षमा धनकुटा नगरपालिकाको बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईको भनाई छ ।


