कुवेतमा अ’लपत्र परेका २१ नेपाली स्वदेश फर्किए
काठमाडौं । कुवेतमा अलपत्र परेका २१ जना नेपाली कामदार स्वदेश फर्किएका छन् । ‘अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनी’मा काम गर्ने २१ जना नेपाली कामदारको नेपाली दूतावासले उद्धार गरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले नेपाल फर्किएका कामदार विभागको सम्पर्कमा आएको बताए । उनीहरूको औपचारिक उजुरी विभागले दर्ता गरेको जानकारी गराउँदै भुसालले भने, ‘यसका लागि कुवेतस्थित नेपाली राजदूतावासलाई धन्यवाद दिन चाहन्छौं ।’
विभागका अनुसार भिसा स्टाट्स अवैधानिक भइदिँदा कामदारको उद्धारमा कठिनाइ भएको थियो । कुवेती अध्यागमनको कालोसूचीमा परेपछि उनीहरूलाई फिर्ता गर्न जरिमाना नै तिर्नुपर्ने अवस्था थियो त्यसैले दूतावासले उनीहरूलाई कालोसूचीबाट हटाउन पहल गरिरहेको राजधानीमा खबर छ ।
कम्पनीका कारण नै अवैध बन्न पुगेका उनीहरूले साढे दुई महिनाको तलब पाउनै बाँकी थियो । उनीहरू ग्लोबल राइजिङ प्लेसमेन्टमार्फत त्यहाँ पुगेका थिए । सुरुका चौथो महिनाबाट तलब नपाएका उनीहरूले कुवेतको आवासीय अनुमतिपत्र पनि पाएका थिएनन् ।
दूतावासमा समस्याबारे जानकारी गराए पनि ती कामदारको समस्या समाधान हुन सकेन । उनीहरू कम्पनीले उपलब्ध गराएको घरमा बसे पनि भाडा नतिरिदिएपछि थप समस्यामा परेका थिए । दूतावासले घर मालिकलाई अनुरोध गरेर राखेको थियो । दुई महिनाअघि भने कम्पनी नै बन्द हुन पुग्यो । यसकारण, उनीहरू थप समस्यामा परेका थिए ।
यसैबीच, वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका नेपाली कामदार पनि त्यस्तै समस्यामा परेका छन् । एजेन्ट एवं म्यानपावर कम्पनीको प्रलोभन, रोजगारदाता कम्पनीको जालझेल र साउदी अरबको परिवेशबारे केही जानकारी नहुँदा उनीहरू त्यहाँ पुग्नेबित्तिकै स्वदेश फर्कन बाध्य हुने गरेका हुन् । दूतावासको तथ्यांकअनुसार चालू आवका साउन, भदौ, असोज र कात्तिकमा मात्र दूतावासले नेपाली कामदारको करिब ४ हजार ४३ भन्दा बढी समस्या समाधान गरेको छ । समस्या लिएर आउनेको संख्या निकै धेरै रहेको दूतावासले जनाएको छ ।
चार महिनामा दूतावासले नेपाली कामदार समस्यामा परेका साउदी अरबका ६४ कम्पनीसँग छलफल गरेको छ भने श्रमिक समस्या लिएर ४१ पटक त्यहाँको श्रम कार्यालय पुगेको छ । सो अवधिमा साउदी अरबका रोजगारदाता कम्पनीले १९ हजार ४ सय ६५ नेपाली कामदारको माग गरेका थिए । पछिल्लो चार महिनामा मात्र तलब समयमा नपाएका समस्या १ हजार ९ सय २६, बहिर्गमन भिसा समस्या १ सय ११, बिरामी तथा अस्पताल भर्ना समस्या २८, करार समाप्त नगरी घर फर्किन चाहनेको समस्या ७२, करार सम्झौता उल्लंघनले सिर्जित समस्या
४ सय २७ छन् ।
यसैगरी, अस्थायी आवासीय अनुमतिपत्र नवीकरण नभएका कारण सिर्जना भएका समस्या १ हजार ३ सय ७६ र भगौडा कामदार समस्या १ सय ६ गरी कुल ४ हजार ४३ समस्या दूतावासले समाधान गरेको छ ।
वितेका चार महिनाको अवधिमा दूतावासले नेपाली कामदार समस्यामा परेका ६४ कम्पनीको भ्रमण गरेको छ भने श्रमिक समस्या लिएर ४१ पटक त्यहाँको श्रम कार्यालय पुगेको छ । दूतावासका कर्मचारीले ८ हजार ९ सय जना नेपाली कामदारसँग पछिल्लो चार महिनामा समस्या समाधान गर्न टेलिफोनमा कुराकानी गरेको जनाएको छ । आव २०७५/७६ मा १ हजार ४ सय बढी नेपाली महिला संस्थागत रूपमा काम गर्न साउदी अरब पुगेका थिए ।
घरेलु कामदारका रूपमा नेपाली महिलालाई विदेश जान तीन वर्षअघि रोक लगाइए पनि अस्पताल, विद्यालय, विश्वविद्यालयलगायत क्षेत्रमा संस्थागत रूपमा जान खुला गरिएको थियो । सो समय सप्लाइ कम्पनीले संस्थागत भनी लगेका नेपाली महिलालाई सम्बन्धित काममा नलगाई अन्यत्र प्रयोग गरेको पाइएपछि थप कडाइ गरिएको हो । जसका कारण चालू आव २०७६÷७७ कात्तिकसम्ममा ३७ नेपाली महिला मात्र संस्थागत रूपमा साउदी पुगेको विभागले जनाएको छ ।


