धनकुटाका ७ वटै तहका क्वारेन्टाईन सेण्टरमा रेडक्रसका सामाग्री
धनकुटा खबर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाले जिल्लाको ७ वटै स्थानीय तहका क्वारेन्टाइन सेण्टरहरुलाई आवश्यक सामाग्री उपलव्ध गराई रहेको छ ।
जसअनुसार आज छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका क्वारेन्टाईन सेन्टरलाई कम्मल २५ थान, त्रिपाल ५ थान, बिर्को सहितको प्लास्टिक बाल्टिन ८ थान, स्ट्रेचर १ थान, हातधुने साबुन ७ दर्जन तथा कोरोना भाईरस कोभिड १९ बारे हाते पर्चा १ सय ५० थान हस्तान्तरण गरिएको नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखा धनकुटाका सभापति हरी राईले जानकारी दिनु भयो ।
ती सामाग्री छथरजोरपाटी गाउँपालिकामा गाउँपालिका प्रमुख शेर वहादुर लिम्वु र महालक्ष्मी नगरपालिकामा नगर प्रमुख पर्शुराम नेपाललाई रेडक्रस सभापति राईले हस्तान्तरण गर्नुभएको थियो । सामाग्री हस्तान्तरण कार्यक्रममा रेडक्रस उपसभापति देवि याख्खा, कोषध्यक्ष मुकुन्द भण्डारी, उपमन्त्री शान्तिला तामाङ्ग लगायतको उपस्थिती थियो । भोलि धनकुटा नगरपालिका र शहिदभूमि गाउँपालिकामा ती सामाग्री दिईने जनाईएको छ ।
धनकुटा नगरपालिकालाई यउसअघि पनि कम्मल ५० थान, साउदीअरेवियन टेण्ट एक थान उपलव्ध गराईएको थियो । यसअघि हिजो पाख्रीवास नगरपालिका, चौविसे गाउँपालिका र सागुरीगढी गाउँपालिकाका क्वारेन्टाईन सेन्टरलाई पनि ती सामाग्री उपलव्ध गराईएको जिल्ला रेडक्रसले जनाएको छ ।


